मंगलबार, फागुन १२, २०८२

खर्च जोगाउन एकैपटक चुनाव गरौँ : अध्यक्ष नेपाल

मेरोन्यूज २०७८ कार्तिक १२ गते १२:३६
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन)मा जानु जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र संघीय चुनाव एकै पटक गर्नु पर्नेमा जोड दिए ।

Advertisement
nepal life insurencenepal life insurence

‘किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन, मिल्छ कि मिल्दैन छलफल गर्नु पर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन,’ अध्यक्ष नेपालले भने, ‘मलाई लागेको चाहिँ सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो, निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागि निर्वाचन छुट्टाछुट्टै गर्नु हुँदैन ।’

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे । ‘वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला, त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन, चुनावअघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ,’ उनले भने ।

एमालेमा फर्किने कुरामा कल्पनासमेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे । एकीकृत समाजवादीलाई विचार र नीति प्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनको भनाइ थियो ।

प्रतिक्रिया