यलम्बर उद्यान निर्माणमा अवरोध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण सुरु गरिएको यलम्बर उद्यानको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । आफ्ना दश पुस्तादेखिका पुर्खाको समाधिस्थल भत्काएर १०० फिट अग्लो किराँती प्रथम यलम्बरको कृत्रिम शालिकसहितको उद्यान निर्माण गर्न खोजिएको भन्दै उनीहरुले अवरोध गरेका हुन् ।
यलम्बर उद्यान निर्माणस्थल पञ्चदोबाटोमा ठेकेदारले स्काभेटर प्रयोग गरी खन्न थालेपछि मानव कंकालसमेत निस्किएको छ । करिब तीन हजार ५०० को हाराहारीमा किराँती पुर्खाको चिहान भएको यलम्बर उद्यान निर्माणस्थल पञ्चदोबाटोबाट मानव कंकाल निस्किएपछि त्यसको चौतर्फी विरोध भएको छ । निर्माणस्थलमा अहिले पनि २८७ वटा आफ्ना पुर्खाको चिहान स्थानीय युवाले चिनो (नम्बर मार्किङ) गरेर राखेका छन् । ऐतिहासिकस्थलमा यलम्बरको उद्यान बन्ने भएपछि स्थानीय बासिन्दाले आफूहरु विकासविरोधी नभएको भन्दै समाधानका लागि उपयुक्त बाटो खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । पञ्चदोबाटोमा प्रदेश नं १ सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत गरी १० करोड २७ लाखको लागतमा यलम्बर उद्यान निर्माणको काम थालिएको थियो । निर्माणको प्रारम्भिक चरणमै स्थानीयले अवरोध गरेपछि यलम्बर उद्यान बन्नेबारे अन्योल भएको छ ।
यलम्बर उद्यान निर्माणस्थल पञ्चदोबाटो बुइपास्थित तम्रुङ, गैरीगाउँ, खालिङटोल, डङ्कुरा, बीचगाउँ, बरबोटलगायतका गाउँको संयुक्त समाधिस्थल भएकाले यसलाई जोगाउनुपर्ने स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र)का नेता डार्विन राईले बताए । “हामीले यलम्बरको मूर्ति बनाउन नै हुँदैन भनेका छैनौँ”, उनले भने, “समाधिस्थललाई सुरक्षित राखेर मूर्ति बनाइनुपर्छ भन्ने माग हो । यसमा केठेदारले सहमति उलंघन गरेका छन् ।”
निर्माण व्यवसायीले यलम्बरको मूर्ति बनाउनुअघि आफूहरुसँग गरेको सहमति उल्लंघन गर्दै स्काभेटर लगाएर पुराना समाधि ध्वस्त पार्न थालेकाले रोक्न बाध्य भएको स्थानीयको भनाइ छ । स्थानीय र निर्माण कम्पनीबीच समाधिस्थलमा भएका चिहानको संयुक्त आत्माघर बनाउने, त्यहाँ भेटिएका पुरातात्विक वस्तुलाई सङ्ग्रहालयमा राख्नेलगायत सहमति भएको थियो । यलम्बर उद्यान निर्माणको काममा विवाद भएपछि बुइपाका वडाध्यक्ष दिनेश राईले सहमतिअनुसार काम नभएको स्वीकार्दै अब सच्याएर निर्माणको कामलाई अगाडि बढाइने बताए ।
“सुरुमा स्थानीय बासिन्दासँग गरेको सहमतिअनुसार काम नभएकै हो”, उनले भने, “सहमतिअनुसार काम नभएपछि उहाँहरूको भावनामा चोट पुगेको छ । आगामी दिनमा सच्याएर काम अघि बढाउँछौँ ।”
निर्माण कम्पनी उमा–तुवाचुङ–अन्सुली जेभीका प्रतिनिधि एवं तुवाचुङ कन्सट्रक्शन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले आफू नहुँदा कामदारले अन्धाधुन्द संरचना भत्काएको र अब त्यसो नहुने बताए । “अब सहमति अनुसार नै काम हुन्छ । उहाँहरुको भावनामा चोट पुग्न दिँदैनौँ”, उनले भने । पञ्चदोबाटोमा निर्माण सुरु गरिएको यलम्बरको शालिकसहितको उद्यान चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण सुरु गरिएको थियो । निर्माणको काम सुरु गरेलगत्तै विवाद भएपछि अठार महिनाभित्र निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको काम तोकिएको समयमा सम्पन्न नहुने देखिएको छ । नगरपालिकाले गौरवको आयोजनाअन्तर्गत राखेको यलम्बर उद्यानको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश नं १ मा जम्मा हुने निर्माण उपभोक्ता समितिले जनाएको छ ।
सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर उद्यान पर्यटकका लागि आवतजावत गर्नसमेत सहज हुने गरी निर्माणस्थल छनोट गरिएको हो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको उद्यानमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन सकिने निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताए । यलम्बर उद्यानबाट किराँती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ । सरकारले निर्धारण गरेको १०० पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर उद्यानलाई महत्वका साथ हेरिएको छ । किराँत ऐतिहासिकस्थल बुइपामा यलम्बरको विश्वकै अग्लो र ठूलो शालिकसहितको उद्यान निर्माण सुरु भएपछि यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । केदार मगर/रासस









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया