महाधिवेशनमा एमाले
नेतृत्वमा ओली आकांक्षा !

नेकपा एमालेको दशौँ महाधिवेशन आउन अब जम्माजम्मी २२ दिन बाँकी छ । पहिलेका महाधिवेशन नियाल्ने हो भने, यतिबेला पार्टी नेतृत्वका आकांक्षी नेताहरूले उम्मेदवारी घोषणा गर्ने, आफ्नो समूह निर्माण गर्ने र महाधिवेशनबाट नेतृत्वमा पुग्नका लागि मिलाउनु पर्ने समीकरण मिलाउने, नाफा घाटा हिसाब गर्ने र अन्तिम तयारीमा जुट्ने समय हुन्थ्यो योबीचको अहिलेको समय ।
तर, एमाले विभाजित भएको, नेतृत्वका स्वभाविक प्रतिस्पर्धी आकांक्षी नेता (माधव नेपाल समूह) पार्टीबाटै बाहिरिएको र फेरि नेतृत्वको ‘क्लास’ दोहोर्याउने ओलीमा चाहना देखिएको र त्यहीअनुसार विधानको व्याख्यासमेत भएपछि एमालेमा नेतृत्वको आकांक्षीका बीचमा अहिले एक खालको सन्नाटा छाएको छ ।
अध्यक्षमा लगभग ओली फेरि निश्चित जस्तै छन् । मात्रै उनलाई टीका लगाउन बाँकी छ । एमालेले पार्टीमा ७० वर्षे उमेर हद लगाएसँगै ओलीकै लागि नेतृत्वमा पुगेपछि ७० वर्ष उमेर कटे पनि काम गर्न पाउने गरी विधानको व्याख्या भएको छ । ओली फागुनमा उमेर हद पार गर्ने अवस्थामा रहेकाले एमालेले मंसिरमै अरु प्रक्रिया छोटाएर हतार–हतारमा महाधिवेशन गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।
एमालेको दशौँ महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदै छ । त्यसको अन्तिम तयारीमा अहिले एमाले नेताहरू व्यवस्थापकीय काममा जुटेका छन् । महाधिवेशनमा उदघाटन कार्यक्रम र नेतृत्व चयनका काम मात्र बाँकी राखेर अन्य काम एमालेले विधान महाधिवेशनबाट छिनोफानो लगाइसकेको छ ।
यसले एमालेमा अहिले ओलीले के सेचिरहेका छन् ? उनले आफ्नो टिम निर्माण कसरी सोचेका छन् ? भन्नेमै एमाले नेता –कार्यकर्ताको ध्यान केन्द्रीत देखिएको छ । जसका कारण आफू यही पदको आकांक्षी भनेर आकांक्षी नेताहरूले मुख खोलिसकेका छैनन् । बरु ओलीसँग कसरी नजिकिने र उनको विश्वास कसरी जित्ने भन्नेमा नेताहरुको भित्री कसरत र समय खर्च भइरहेको देखिन्छ ।
ओली चाहना !
एमाले अध्यक्ष ओलीले महाधिवेशनबाट आफै अध्यक्षमा दोहोरिने गरी प्रतिस्पर्धीलाई पार्टीबाटै धपाएपछि उनका लागि अहिले चुनौती दिन सक्ने नेता एमालेमा देखिएका छैनन् । तर, घनश्याम भुसाल र भीम रावलमध्ये एकले ओलीलाई अध्यक्षमा चुनौती दिन सक्ने गरी उम्मेदवारीको चर्चा एमालेभित्र सुनिन थालेको भने छ । त्यसको कुनै टुंग्गो छैन । ओलीविरूद्ध भुसाल र रावलमध्ये एकले उम्मेदवारी दिईइहाल्छन् भन्ने बलियो आधार देखिएको छैन ।
यदि, कथंकदाचित भुसाल या रावलमध्ये एकले ओलीसँग टक्कर लिने गरी अध्यक्षमा उम्मेदवारी दिए एमालेभित्र माधव नेपाल समूह बाहिरिएको अवस्थामा ओलीलाई चुनौती दिने र हराउन सक्ने नेतृत्वमा कुनै नेता देखिएका छैनन् । ओलीको एमालेभित्रको अग्लाईमा रावल वा भुसाल ‘निम्छरो’ मात्र बन्ने देखिन्छ । जसका कारण उनीहरूले ओलीलाई चुनौती दिने गरी सोच्छन् या आफ्नो पद कुनै पदाधिकारीमा सुनिश्चित हुने गरी जान खोजेका छन् ? अहिले खुलेको छैन । तर, उनीहरुको भित्री तयारी भने आफू दुईमध्ये एकले उम्मेदवारी दिने कि भन्नेतिरै लक्षित देखिन्छ ।
यद्यपि, अहिले रावल र भुसाललाई माधव नेपालकाे साथ छाडेर एमालेमै बसेका अन्य ८ प्रभावशाली मानिने नेताहरूको समेत साथ देखिन्न । उनीहरू ओलीसँग जुध्नेभन्दा ओलीसँग मेलमिलापको नीति लिएर आफ्नो पद एमालेमा कसरी सुरक्षित बनाउने भन्नेतिर केन्द्रीत हुन खोजेजस्तो देखिएका छन् ।
एमालेमा अबको महाधिवेशनबाट १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ । माधव नेपालका ५७ जना केन्द्रीय सदस्यले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि अहिले माओवादी छाडेर एमालेमै रहेकासम्म गरेर एमालेमा १९६ जना केन्द्रीय सदस्य छन् । तर, ओलीले यसमध्येबाट कम्तीमा ३० देखि ४० जना नेतालाई अहिले पार्टीको केन्द्रीय कमिटी सदस्यबाट बिदाई गर्न चाहेको एमाले मुख्यालयः स्रोत बताउँछ ।
त्यसो गर्दा करिब १५०-१५५ आसपासका अहिलेका केन्द्रीय समितिका नेताहरू नै पार्टीको अबको महाधिवेशनबाट पनि केन्द्रीय कमिटीमा दोहोरिने गरी ओलीले ल्याउन चाहेको बुझिन्छ । त्यसो गर्दा ओलीले कम्तीमा ६० देखि ७५ जनासम्म केन्द्रीय समितिमा नयाँ सदस्य ल्याउने गरी आन्तरिक तयारी गरिरहेको स्रोतको भनाई छ ।
उनले अब दोहोरिने कार्यकाल ५ वर्ष एमालेको नेतृत्व सम्हालेपछि आफ्नो उत्तराधिकारी जन्माएर नेतृत्व सुम्पने गरी अहिले नै पार्टीमा नेता उत्पादन गर्ने सोच बनाएका छन् । यसका लागि उनले वरिष्ठ उपाध्यक्ष आउने नेताबाट छान्ने या महासचिवबाट भन्ने दुईमध्ये एउटा विकल्पबाट अब आफूपछिको नेतृत्व ल्याउने तयारी गर्ने सोच बनाएको देखिन्छ ।
तर, उनको सोच कार्यकारी भूमिकामा देखिने गरी अबको महाधिवेशनबाट महासचिव ल्याइने नेतालाई आफूपछिको एमालेको नेतृत्व छोड्ने गरी उत्तराधिकारी निर्माण गर्ने कोशिसमा देखिन्छ । त्यसका लागि उनको रोजाईमा अहिले शंकर पोखरेल पर्न सक्ने सम्भावना बलियो देखिएको छ ।
अध्यक्षमा आफै दोहोरिएर विधानमा व्यवस्था भएबमोजिमको एक मात्र वरिष्ठ उपाध्यक्षमा ओलीको रोजाई मुख्यतः तीन नेतामध्ये एकमा हुने देखिएको छ । जसमा ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र सुवास नेम्वाङमध्येबाट ओलीले एक जनालाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेका छन् ।
उनको रोजाई सकभर नेतृत्व सर्वसहमत बनाउनेतिर छ । त्यसो हुँदा दुई कार्यकाल महासचिव भएर पार्टी चलाइसकेका इश्वरसँग आफ्नो भित्री दलचस्पी नदेखिए पनि योपटकका लागि पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाएर थापा र नेम्वाङलाई चार उपाध्यक्षमा समेट्ने तयारीमा ओली देखिन्छन् ।
४ मध्ये पहिलो उपाध्यक्षमा थापा, दोस्रोमा नेम्वाङ, तेस्रोमा अष्टलक्ष्मी शाक्य र चौथोमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, या प्रदीप ज्ञवालीमध्ये एक ओलीको रोजाईमा पर्न सक्ने अनुमान गरिएको छ । तर, रावल र भुसाल ओली योजनामा मिल्न आए त्यसको समीकरणमा केही फेरबदल हुन सक्ने टक्कर लिन खोजेमा उनीहरु ओलीको रोजाईभन्दा बाहिर हुने छन् ।
त्यसो हुँदा ओलीले महासचिवमा शंकर पोखरेललाई बनाउन सक्ने अनुमान एमालेवृत्तमा चर्चा चल्न थालेको छ । विष्णु पौडेल या शंकर पोखरेलमध्ये एकबाट उनले महासचिव चयन गर्ने छन् । तर, उनको पहिलो रोजाई महासचिवमा पोखरेल छन् । पौडेललाई पनि सँगै उपाध्यक्षतिर लैजान सक्ने संकेत एमालेमा हुन थालेको छ ।
एक मात्र उपमहासचिवको पदमा भने ओलीको रोजाई पहिले नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका र आफू प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरिरहेका विष्णु रिमाल पर्ने सम्भावना अधिक छ । तर, चुनाव भएमा भने अहिले सचिव रहेका मध्येबाट केही नेताहरूसँग रिमालको चुनावी प्रतिस्पर्धा हुन सक्ने अनुमान एमालेमा गरिदै छ । सचिवका आकांक्षी भने धेरै देखिएकाले त्यसमा के-कसरी व्यवस्थापन हुन्छ अहिले नै भन्ने अवस्था जन्मिसकेको देखिदैन ।
‘पार्टीमा अध्यक्षको पहिलो प्राथमिकता सकभर नेतृत्व सर्वसहमतिमै चयन गराउनेतिर छ, त्यसो हुँदा पार्टीभित्र एकताको सन्देश जाने देखिएपछि उहाँ (अध्यक्ष)ले सर्वसहमतिमा नेतृत्वको कुरा गरिरहनुभएको हो, त्यसो गर्दा माओवादी छोडेर एमालेमा आएका नेता साथीहरुलाई पनि उचित स्थानसहितको जिम्मेवारी, माधव नेपाल छोडेर अन्तिमसम्म एमालेमै रहेका नेताहरुको पनि पदीय व्यवस्थापनमा उहाँले निक्कै चासो र सन्तुलन मिलाउने जमर्काे गर्नु हुनेछ,’ ओलि निकटका एक स्थायी कमिटी सदस्यले भने ।
ओलीले केही उमेरका कारण निष्क्रिय रहेजस्तो भूमिकामा रहेका, सिनियर रहेका नेताहरुलाई केन्द्रीय सल्लाहकार परिषद्, कम्युनिष्ट जेष्ठ मञ्च, अनुसाशन आयोग वा अन्य कुनै स्थानमा व्यवस्थापन गरेर अहिले केन्द्रीय कमिटीमा नरहेका तर भूगोल, क्रियाशिलता लगायतलाई आधार बनाएर नयाँ अनुहारलाई केन्द्रीय समितिमा ल्याउने चाहना राखेका छन् ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ अध्यक्षको चाहना अहिले पार्टी नेतृत्व सकभर सर्वसम्मात बनाउनेतिर रहेको बताउँछन् ।
‘दशौँ महाधिवेशनमा सर्वसम्मतिको महाधिवेशन हुनुपर्छ भन्ने मनोविज्ञान पार्टीमा छ । अध्यक्षले पनि त्यसरी नै सोचिरहनु भएको छ । वडा, पालिका देखि महाधिवेशन प्रतिनिधी चयन सम्म अध्यक्षले सर्वसम्मत नेतृत्वको कुरा गरिरहनु भएकोले पनि अबको महाधिवेशनवाट आउने नेतृत्वमा उहाँले सर्वसम्मत नेतृत्व चयन गराउने गरी सोच्नुभएको देखिन्छ,’ कार्यलय सचिव तामाङले मेरोन्यूजसँग भने, ‘अहिले पार्टीमा सर्वसम्मत नेतृत्व चयनको आवश्यकता पनि छ, किनभने चुनावी प्रक्रियामा गइयो भने एकता प्रक्रियामा आएका धेरै साथी छुट्ने सम्भावना हुन्छ, नेतृत्व विधानअनुसार चयन गर्ने हो, पूर्वमाओवादी समूहबाट आएकालाई यति सिट भनेर छुट्याउन पनि मिलेन , माधव लाई छोडेका साथीहरुलाई पनि मिलाउनु पर्ने अवस्था छ । त्यसकारण पनि सर्वसम्मत नेतृत्व चयनतिर नै जान्छ होला ।’

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया