मंगलबार, फागुन १२, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे विश्वासको मत लिँदै

मेरोन्यूज २०७८ कार्तिक २२ गते ७:५४

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री पाण्डेले सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे यही कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर उनले एक महिना नपुग्दै विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले कात्तिक १४ गते विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएका थिए । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेको विश्वासको मत लिने प्रस्ताव पेश गरेर मत विभाजन गर्ने बताइएको छ । पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीसहितका दलले समर्थन गरेका छन् ।

१०९ सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५५ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । बागमती प्रदेश सभामा एमालेका ४३ , माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई–दुई र जनता समाजवादी पार्टीका एकजना सांसद छन् । पाँच दलिय गठबन्धनबाट मुख्यमन्त्री भएका पाण्डेको पक्षमा गठबन्धनका ५९ जना सांसदले हस्ताक्षर गरेका थिए । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया