कांग्रेसको १४ औं महाधिवेशन
संस्थापनइतरका चार सभापतिका आकांक्षी चारतिर
वान टु वान र सामूहिक प्रयास सार्थक नभएपछि आ–आफ्नै तयारीमा

काठमाडौँ । आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशका लागि १५ जिल्लाको अधिवेशन सकिएको छ । तीबाहेक अधिकांश जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।
मातहतका निकायमा प्रदेशसभा अधिवेशन आजसम्म सक्ने तयारी छ । मातहतमा अधिवेशन भइरहँदा केन्द्रमा नेतृत्व लिनका लागि नेताहरू दौडधुपमा लागेका छन् । स्पष्ट रुपमा दुई गुटमा विभाजित कांग्रेसमा संस्थापन र नेता रामचन्द्र पौडेल समूहका उम्मेद्वार हुने निश्चित भए पनि अहिले दुवै समूहबाट एकभन्दा बढी उम्मेद्वार हुने निश्चित भएको छ । संस्थापनबाट उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।
संस्थापनइतरबाट धेरै नेताले सभापतिमा आकांक्षा राखेका छन् । देउवालाई सभापतिमा हराउन इतरको एउटा मात्रै उम्मेदवार बनाउनु पर्ने भए पनि सबैले एकै पदमा दाबी गर्दै आएका छन् । संस्थापनइतरबाट नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले सभापतिमा दाबेदारी घोषणा गरेका छन् ।
संस्थापनबाट उम्मेद्वारी घोषणा नुहँदै आफूहरुले एउटा मात्रै सभापतिको उम्मेद्वार बनाउने भनेर पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन नै गरेका थिए । तर, अहिलेसम्म आउँदा एउटा उम्मेद्वार हुने सम्भावना समाप्त भएको छ ।
गत मंगलबारदेखि शनिबारसम्म भएका वान टु वान भेटवार्ता र सामूहिक छलफलमा कुरा नमिलेपछि नेताहरू आ–आफ्नो तयारीमा लागेका छन् । मंगलबार सभापतिका आकांक्षी महामन्त्री डा. शशांक र डा. शेखरबीच भेटवार्ता भएको थियो । एउटै परिवारका दुई आकांक्षीले नै सभापतिमा दाबी गरेपछि पहिला परिवार मिल्ने सहमति बन्यो ।
महामन्त्री कोइरालाले दाजुसमेत रहेका डा. शेखरलाई समर्थन गर्ने र बुधबार बिहान पत्रकार सम्मेलन गर्ने सहमति भएको थियो । बुधबार बिहान पत्रकार सम्मेलनको तयारी हुँदै गर्दा महामन्त्री कोइराला ८ गते गरौँला भन्दै बाहिरिए । त्यसपछि उनीहरूबीच भेटघाट त परै जाओस्, टेलिफोन वार्तासमेत हुन सकेको छैन ।
त्यसपछि उनीहरूले आफ्नो समूहका अरु उम्मेद्वारलाई फकाउने प्रयास गरे । त्यही प्रयास स्वरुप डा. शेखरले शुक्रबार साँझ अर्का उम्मेद्वार प्रकाशमान सिंहलाई उनकै निवास चाक्सीबारीमा पुगेर भेटे । र, आफूलाई सभापतिमा सघाए संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने आश्वासन दिए । सिंहले डा. शेखरलाई आफू सभापति बन्ने र शेखरलाई संसदीय दलको नेता र प्रधानमन्त्री बन्न आग्रह गरेपछि कुरा मिलेन । त्यसपछि उनीहरु निष्कर्षबिना उठे ।
शनिबार बिहान महामन्त्री डा. कोइरालाले नेता पौडेल र सिंहलाई उनीहरूकै निवासमा पुगेर भेटघाट गरे । साँझ तीन नेताबीच महामन्त्री कोइराला निवास महारागञ्जमा बैठक गर्ने कुरा भयो । त्यहीअनुरुप साँझ महाराजगञ्जमा बैठक भयो । तर, सबैका आ–आफ्नै कुरा दोहोरिए । कुनै सहमति भएन ।
बैठकमा महामन्त्री कोइराला र नेता सिंहले नेता पौडेललाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे । आफूहरुले नेता पौडेललाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको नेता सिंहले जानकारी दिए ।
‘शशांक जी र मैले रामचन्द्र दाइलाई तपाईं अभिभावकको भूमिका निर्वाह गर्नुस् भनेर आग्रह गर्यौँ,’ उनले भने । तर, कसैले कसैको प्रस्ताव स्वीकार गर्ने अवस्था नदेखिएपछि बैठक बिना निस्कर्ष सकिएको सिंहले बताए । ‘केही निष्कर्ष निस्केन, छलफल मै सिमित भयो,’ सिंहले भने ।
महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि नेताहरुको दौडधुप बाक्लिए पनि सहमति बन्न सकेन । त्यतिमात्र होइन, नेताहरूबीच अब त एकले अर्कालाई सघाउने विषयमा सँगै बसेर छलफल गर्ने अवस्थाको अन्त्य भएको छ । संस्थापनइतरका एक सभापतिका आकांक्षी भन्छन्, ‘जति बसे पनि एकले अर्कालाई सभापतिमा सघाउने अवस्था देखिएन, अब त बस्नुको औचित्य सकिएको छ, सबै आ–आफ्ना तयारीमा लागेका छन् ।’


















कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया