एमालेमा यसरी छानिँदै छन् नयाँ नेतृत्व
५० वटा क्लस्टरमा निर्वाचन हुने, महाधिवेशन प्रतिनिधिको मोबाइलमा ११ गते राति नै उम्मेदवारको विवरण प्राप्त हुने

भरतपुर । एमाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि एमालेको निर्वाचन आयोगले आजैदेखि चितवन सौराहमा कार्यालय सञ्चालन गर्ने भएको छ । सौराहको सेभेन स्टार होटलमा बन्द शत्र आयोजना हुने भएपछि त्यही आसपास हुने गरी आयोगले निर्वाचन कार्य तालिका सञ्चालनमा गर्न लागेको हो ।
भोलि महाधिवेशन उद्घाटन भएपछि पर्सी ११ गते उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्तादेखि अन्तिम नामावलीसम्म काम हुने छ । साँझ ६ बजे उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेपछि १२ गते मतदानको कार्यक्रम निर्वाचन आयोगले तोकेको छ । एमालेमा डा. विजय सुब्बा अध्यक्ष रहेको १५ सदस्यीय निर्वाचन आयोग छ ।
सकभर पदाधिकारीमा सर्वसम्मत र केन्द्रीय सदस्यहरूमा भने चुनावको विधि अवलम्वन गर्न एमाले नेतृत्वले चाहेको थियो । तर, अध्यक्ष ओलीले चाहे जस्तो सर्वसम्मत अध्यक्षमा समेत नहुने भएपछि भोलिको उद्घाटन शत्र सकेपछि एमालेले चितवनमै मौज्जुदा केन्द्रीय समितिको अन्तिम बैठक बोलाएको छ ।
उद्घाटन शत्र सकेपछि अन्तिमपटक अहिले मौज्जुदा रहेको केन्द्रीय कमिटीको अन्तिम बैठक बसेर सकभर पदाधिकारीमा सर्वसम्मत सबै पक्षलाई समेटेर सर्वसम्मत बनाउन प्रयास गर्ने तर त्यसो हुन नसके पदाधिकारीमा पनि चुनाव गराउने गरी निर्वाचन आयोगलाई म्यान्डेट दिने तयारीमा एमाले छ ।
अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गरेकाले ओलीसमेत सर्वसम्मत हुने अवस्था छैन । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले सर्वसम्मत हुने प्रयास गरे पनि सुवास नेम्वाङ, घनश्याम भुसालदेखि कतिपय नेताहरु आकांक्षी देखिएका छन् । रामबहादुर थापाले पनि वरिष्ठ उपाध्यक्षमा भित्री चाह देखाइरहेका छन् ।
महासचिवमा शंकर पोखरेल, विष्णु पौडेलदेखि सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङसम्मका नेताहरु आकांक्षी देखिएका छन् । अन्य पदमा उत्तिकै उम्मेदवार छन् । केन्द्रीय सदस्यमा भए पनि दोहोरिने, तेहरिने या डेब्वु मार्ने नेताहरु उत्तिकै छन् । आकांक्षी धेरै रहेकाले एमालेले केन्द्रीय सदस्यमा चुनाव नगराई नहुने अवस्था छ । जसका कारण उसले यसपटक विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन)बाट मतदान गराउने योजना बनाएको छ
त्यसका लागि एमालेको निर्वाचन आयोगले विद्युतीय मतदानका लागि भोटिङ मेसिन एक सय ओटा व्यवस्थापन गरेको छ । ९२ वटा मेशिनहरु निर्वाचनका लागि प्रयोग गर्ने छ । तीन वटा मेशिन नमूना मतदानका लागि आयोगको कार्यालयअगाडि खुला रुपमा राखिने छ । पाँच वटा मेशिनहरु जगेडामा राखिने र मतदानका क्रममा कुनै मेशिनमा गडवडी आएमा जगेडाका मेशिनहरु प्रयोग गरिने गरी व्यवस्थापन मिलाएको निर्वाचन आयोगले बताएको छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने भएकाले एउटा मेशिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्ने गरी व्यवस्थापन मिलाइएको छ ।
निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न सहज बनाउन मंसिर ११ गते राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउने छ । मंसिर १२ गते बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशितप्रति प्रतिनिधिको हातहातमा पु¥याइसकिने गरी निर्वाचन आयोगले तयारी थालेको छ ।
मतदान गर्न सजिलोको लागि प्रतिनिधिहरुलाई प्रकाशितप्रति साथै लान छुट दिइने छ । तर आयोगले निर्वाचनको क्रममा प्यानल बनाउन नपाउने नियम बनाएको छ । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरिने निर्वाचन आयोगले जनाएको छ ।
कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानर जस्ता कुनै सामग्री वितरण गर्न बन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयबाहेक अन्य सामग्रीहरु सार्वजनिक गरेमा नियमअनुसार कारबाही गरिने आयोगले जनाएको छ ।
५० क्षेत्रमा निर्वाचन हुने
नेकपा एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन गर्नु पर्ने हुन्छ । १५ जना पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी हुने छ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुने छन् ।
निर्वाचन हुने क्षेत्र र संख्या
| क्र.स. | क्षेत्र | खुला | महिला | जम्मा |
| १, | पदाधिकारी | १५ | १५ | |
| २, | ७ वटा प्रदेश | २८ | १४ | ४२ |
| ३ | उपत्यका विशेष | १ | १ | २ |
| ४ | सम्पर्क समन्वय | १ | १ | २ |
| ५ | आदिवसी जनजाति | १५ | ७ | २२ |
| ६ | मधेसी | ११ | ५ | १६ |
| ७ | दलित | ७ | ३ | १० |
| ८ | थारू | ४ | २ | ६ |
| ९ | मुस्लिम | ३ | १ | ४ |
| १० | श्रमिक | ३ | २ | ५ |
| ११ | पिछडिएको क्षेत्र | २ | १ | ३ |
| १२ | खुला क्षेत्र | ६० | ३८ | ९८ |
| जम्मा | १५० | ७५ | २२५ |
केन्द्रीय आयोगको निर्वाचन
| पद | अध्यक्ष | उपाध्यक्ष | सचिव | महिला सदस्य | खुला सदस्य | जम्मा |
| केन्द्रीय अनुशासन आयोग | १ | १ | १ | ५ | ७ | १५ |
| केन्द्रीय लेखा आयोग | १ | १ | १ | ५ | ७ | १५ |
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया