बुटवल–नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

बुटवल । बुटवल–नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न आग्रह गरेको हो ।
दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले सो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको जानकारी दिए । त्यहाँ दैनिक ५०० कामदारले काम गरिरहेको र साइट क्लिरियर गर्ने काम भइरहेको छ । यद्यपि तोकिएको समयमा पूरा हुने अवस्था नरहेकाले म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने सडकको अवस्थाको अध्ययन भइरहेको उनले जानकारी दिए । निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ सम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको सडक आयोजनाले जनाएको छ ।
“निर्माण कम्पनीले ‘२०२४ अगस्टसम्मको म्याद थप गर्न माग गरेकाले जायज हो वा होइन भनेर मूल्यांकन भइरहेको र कन्सलटेन्टले यसका बारेमा अवस्था बुझ्न विज्ञको टोलीले अध्ययन गरिरहेको छ ।” इन्जिनियर शाक्यले भने । लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृति र विद्युत्का पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । यी सबै काम अहिले विस्तारै चलिरहेका छन् । विद्युत् प्राधिकरणले पोल नसारिदिएपछि अहिले निर्माण व्यवसायीले नै पोल सारिरहेको छ । दाउन्नेलगायतका केही ठाउँमा रुख कटान चलिरहेको छ ।
निर्माण कम्पनीले ठाउँठाउँमा सडक भाँसिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि ढिलाई भएको बताउँदै आएको छ । सम्झौता भएकोभन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जनाएको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का योजना प्रमुख रमेश दीष्टीले निर्माण कार्य जारी रहे पनि सन्तोषजनक प्रगति नदेखिएको बताए । नवलपुर खण्डमा करिब तीन प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले जानकारी दिए । सो खण्डमा पनि रुख कटानमा स्वीकृति नपाउँदा र विद्युत् पोल सार्न ढिलाइ भएका कारणले सडक विस्तारको काम प्रभावित भएको छ ।
उत्तरतर्फको रुख कटानमा अनुमति पाएर धेरै रुख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रुख कटानमा समस्या आएको थियो । मन्त्रिपरिषद्ले रुख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रुखसमेत काट्ने भएको छ । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्ट ट्रयाक सडकले जोड्ने गरी सडक विस्तार आयोजना सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा विसं २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तार कामको शिलान्यास भएको थियो ।
यो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ अर्थात् दाउन्ने पश्चिम मानेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ ।
सो सडक चार लेनमा विस्तार हुनेछ भने सहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो । रासस










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया