शुक्रबार, पुष ४, २०८२

राप्रपामा पुर्वराजाको ठाडो र फोहोरी हस्तक्षेप भयो : कमल थापा

मेरोन्यूज २०७८ मंसिर २१ गते १३:४०

काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाले राप्रपालाई निर्मल निवासले भजनमण्डली बनाउन खोजेको आरोप लगाएका छन् । निर्मल निवासले भजन मण्डली बनाउन खोजेपनि त्यसो हुन नदिने थापाले वक्तब्य जारी गरेर वताएका छन् ।

‘केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ,’ थापाले मंगलवार जारी गरेको वक्तब्यमा भनेका छन् ।

थापाले महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको र पराजयका वावजुद पनि पार्टी एकताको पक्षमा आफ्नो निरन्त्र सकारात्मक सहयोग रहने पनि बताएका छन् । ‘विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहनेछ,’ कमल थापाले वक्तब्यमा भनेका छन् ।

हेर्नुहोस वक्तब्यको पूर्ण पाठ


राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ ।

केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।

मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ । तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ ।


नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ । राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।


अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने ?

अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु । यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई भजन मण्डली बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई भजन मण्डली बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।


राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।

प्रतिक्रिया