चार महिनामा पाँच करोड रुपैयाँको कोदो आयात

काठमाडौँ । पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड रुपैयाँभन्दा बढीको कोदो नेपाल आयात गरिएको छ ।
क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८–०७९ को साउन, भदौ, असोज र कात्तिकमा पाँच करोड १५ लाख मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा चार करोड ५२ लाख मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।
क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको जानकारी दिए ।
विर्तामोड नगरपालिका–५ मा मोती इन्टरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताए । उनले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिए । अग्रवालजस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् ।
नेपाल २० वर्ष अघिसम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर रहेको तर, हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री गर्दै आएको उनले बताए । ‘गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो हेटौँडामा,’ उनले भने, ‘युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा सहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनुपर्यो ।’
कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताए । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताएका थिए ।
उनले विशेष गरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको जानकारी दिए । उनले पछिल्लो समय होमस्टे, रेष्टुराँमा कोदोको रोटी, ढिँडोको परिकार बनाउनसमेत आयात हुने गरेको बताए ।

















बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया