लेजेण्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना

काठमाडौँ । ब्राजिलका फुटबल लिजेण्ड पेले पेटको ट्युमरको उपचार गर्न अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए ।
डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएसँगै उनी साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका हुन् । अस्पतालले जारी गरेको विज्ञप्तिमा उनको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।
सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई हरेक दिन राम्रो भइरहेको महसुस गरिरहेको बताएका थिए । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए ।
तीनपटकको विश्वकप विजेता बनेका उनी सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन् । उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।
गत वर्ष पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण एक प्रकारको डिप्रेसनसँग लडिरहेको बताएका थिए । पेलेले २१ वर्षको व्यावसायिक करियरमा एक हजार ३६३ खेलमा एक हजार २८१ गोलको विश्व रेकर्ड बनाएका छन् ।
उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए ।
प्रतिक्रिया