कांग्रेस महाधिवेशन प्रतिनिधि भन्छन्ः विगतभन्दा फरक छ यो महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु पार्टीको आगामी नेतृत्व चयनका लागि देशका ७७ जिल्लाबाटै राजधानी काठमाडौँमा जम्मा भएका छन् ।
महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डप र वरपरका रत्नपार्क, ठमेल, पूतलीसडक बागबजार कांग्रेसका कार्यकर्ताले खचाखच भरिएको थियो ।
महाधिवेशनस्थल भृकुटीमण्डप भरिएपछि अधिकांश कार्यकर्ता बाहिर प्रदर्शनीमार्गमा छन् । उनीहरु महाधिवेशनको कार्यक्रमका मञ्चका गतिविधि देखाउन राखिएका डिस्प्ले बोर्डमा भाषण सुनिरहेका देखिन्थे भने कतिपय महाधिवेशनको महौललाई तस्बिरमा कैँद गर्न व्यस्त देखिन्थे । परम्परागत् विभिन्न झाँकीसँगै बाहिर सडकमा देखिएको पश्चिमी देउडा नृत्य, विभिन्न बाजागाजा तथा सांस्कृतिक झाँकीहरुले महाधिवेशनस्थलको रौनक बढाएको देखिएको थियो ।
जिल्लाजिल्लाबाट आएका कांग्रेसका प्रतिनिधि एवं कार्यकर्ताले महाधिवेशनस्थलमा विगतभन्दा यसपटक भिन्न महसुस गरिएको अनुभव सुनाए । पूर्वको झापादेखि आउनुभएका महाधिवेशन प्रतिनिधि धर्मराज घिमिरे यस पटकको महाधिवेशन विगतभन्दा धेरै हिसाबले भिन्न पाइएको धारणा राखे । समावेशी, समानुपातिक प्रतिनिधित्वका दृष्टिले अहिलेको महाधिवेशनमा धेरै क्षेत्र र बर्ग समेटिएको उनले बताए । यस महाधिवेशनमा अपाङ्ग समूदायका तर्फबाट आँफूले प्रतिनिधित्व गरेको बताउँदै उनले आँफूजस्ता करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि जिल्लाजिल्लाबाट काठमाडौँ आएको बताए ।
“यस महाधिवेशनमा वडा तहदेखि नै अपाङ्गता भएका व्यक्ति एवं समूदायको प्रतिनिधित्व गरिएको छ”, उनले भने, “विधानतः पार्टीमा अपाङ्गहरूको उपस्थितिलाई सुनिश्चित गरिएका कारण यस महाधिवेशनमा अपाङ्गहरूले सहभागिता जनाउन पाएका छन् ।”
महाधिवेशनमा अपाङ्गता भएका समूदायको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिलाई अपाङ्गमैत्री वातावरणमा बस्ने गरी बागबजारस्थित हार्दिक होटेलमा व्यवस्था गरिएको अपाङ्ग सङ्घ झापाका अध्यक्ष समेत रहेका घिमिरेले बताए ।
महाधिवेशनमा धनुषाबाट प्रतिनिधित्व गर्ने मो शेएव पनि विगतभन्दा यसपटक धेरै भिन्नता पाएको बताउछन् । आफू यसअघि पनि महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएको बताउँदै उहाँले जिल्लाजिल्लाबाट आएका प्रतिनिधिहरू यसपटक निकै उत्साहित भएको पाइएको उल्लेख गरे । पार्टीलाई एकताबद्ध बनाएर लैजानु वर्तमानको आवश्यकता भएको धारणा राख्दै शेएवले आगामी नेतृत्वले सबैलाई मिलाएर लैजान सकेमा आसन्न निर्वाचनमा सजिलै बहुमत हासिल गर्नसक्ने उल्लेख गरे ।
महाधिवेशनमा बझाङ जिल्लाबाट आएका प्रतिनिधि शान्तिकुमारी बोहोरा(पुजारा) विगतमाभन्दा यसपटक पार्टीका प्रतिनिधि धेरै उत्साहित भएको पाएको बताए । पार्टी सङ्गठनको समानुपातिक एवं समावेशी प्रतिनिधित्वका दृष्टिले यो महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पार्टीको सदस्यमा मात्र नभई पदाधिकारीमा पनि महिलाको ३३ प्रतिशत उपस्थितिलाई सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।
महाधिवेशनमा डोटीबाट प्रतिनिधित्व गर्नुहुने ७० वर्षीय यज्ञराज पाठक उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति देखिएको बताए । उनले व्यवस्थापन पक्ष भने केही कमजोरजस्तो देखिएको पाइएको अनुभव सुनाए ।
महाधिवेशनमा प्रतिनिधिका रुपमा छैटौँ पटक सहभागी बन्नुभएका बाग्लुङका जगदीशचन्द्र उपाध्याय समावेशिता, समानुपातिक प्रतिनिधत्व लगायतका दृष्टिबाट यसपटक प्रतिनिधिहरूको सहभागिता विगतमा भन्दा बढेको बताउछन् । पार्टी सङ्गठनलाई प्रभावकारी बनाउन पहिला विचार प्रधान र त्यसपछि मात्र नेतृत्व चयन हुनुपर्ने भए पनि यसपटक विचारमा कमैमात्र बहस हुने हो कि जस्तो देखिएको उनले बताए ।
यसपटक पार्टी महाधिवेशनको उद्घाटन पनि प्रविधिमा आधारित रहेर गर्न खोजिएको आफूले पाएको बताउने बाराका प्रतिनिधि इन्द्रशनप्रसाद मण्डल समय सापेक्ष पार्टी अघि बढिरहको धारणा राखे । पार्टीमा नयाँ उत्साह थपिएको आपूmले पाएको बताउँदै उनले भने, “उत्साह त राम्रै छ, पार्टीका प्रत्येक नेता कार्यकर्ता मन मिलाएर अघि बढ्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।”
जिल्लाजिल्लाबाट आएका कांग्रेसका नेता तथा कार्यकर्तामा महाधिवेशनमा देखिएको उत्साहसँगै सक्षम र सवल नेतृत्व चयन हुने अपेक्षा गरिएको कास्की कांग्रेसका नेता ललित गुरुङले बताए । उद्घाटन समारोहमा देखिएको कांग्रेसका नेता तथा कार्यकर्ताको उत्साहलाई संगठन निर्माणमा पनि प्रयोग गर्न सक्नुपर्ने बताउँदै उनले आगामी नेतृत्वले सबैलाई समेट्दै एकतावद्ध बनाएर लैजान सक्नुपर्नेमा जोड दिए । (रासस)

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया