कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् । पाँच जनामध्येबाट सभापतिमा एकजना निर्वाचित गर्नुपर्ने छ ।
यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ ।
दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी कायमै छ ।
एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गंगा सुनारको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् ।
मधेशीतर्फ एक सहमहामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ । थारुतर्फ एक सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । थारुतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएपछि दुई जनामात्र प्रतिस्पर्धामा कायम रहेका हुन् ।
पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सहमहामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी पनि कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।
यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । शनिबार उम्मेदवारले मनोनय दर्ता गराएका हुन् । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यक्रम तय भएको छ । रासस










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया