सोमबार, मंसिर २९, २०८२

प्रदेश २ को नाम मधेस, मिथिला भोजपुरा कि जानकी ?

प्रदेशका नाममा कांग्रेसभित्रै फरक मत

मेरोन्यूज २०७८ पुष ८ गते १६:४०

जनकपुरधाम । प्रदेश २ को नामका बारेमा प्रदेशसभा बैठकमा छलफल भएको छ ।

विहीबारको प्रदेशसभा वैठकमा प्रदेशको नामाकरणकाबारेमा छलफल भएको हो । वैठकमा सत्तारुढ दलका तर्फबाट राखिएको प्रस्तावमा अधिकांश दलहरुले सहमति जनाएका छन् ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को नाम मधेस राख्न प्रस्ताव गरेका थिए ।

प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् ।

प्रदेशसभा बैठकमा विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले भने मधेस नाममा नै समर्थन जनाइन् ।

नेपाली कांग्रेसका सांसदहरुले भने प्रदेश २ को संस्कृति र इतिहासलाई जगेर्ना गर्नेगरी नाम राख्न सुझाव दिएको छ । यद्यपि प्रदेश २ को नामाकरणकाबारेमा कांग्रेसकै सांसदहरुबीच फरक फरक धारणा आएका छन् ।

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी मधेस भन्दा त्रेतायुगदेखि रहँदै आएको संस्कृति र इतिहासलाई जगेर्ना गर्न प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बताए । उनले सबैको भावना समेट्ने गरी नामाकरण गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका अर्का सांसद राजेश्वरप्रसाद साहले भने प्रदेशको नाम ‘मध्य मधेस’ राख्नुपर्नेमा जोड दिँदै आफ्नो तर्क पेश गरेका थिए । मधेसमा २२ जिल्ला रहेको उल्लेख गर्दै साहले मधेस दुई भागमा विभाजित रहेका कारण पनि २ नम्बर प्रदेशको नाम मध्य मधेस राख्दा उपयुक्त हुने बताए ।

यता, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले भने प्रदेशको नाम जानकी हुनुपर्ने बताए ।

प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको नामाकरणका साथै स्थायी राजधानीको बिषयमा पनि छलफल भएको थियो । छलफलमा सांसदहरुले प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै उपयुक्त हुनेमा जोड दिएका थिए । केही सांसदले भने वीरगञ्जलाई स्थायी राजधानी बनाउनु पर्ने प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया