बुधबार, पुष ९, २०८२

सुकुम्बासी बस्तीमा न्यानो कपडा हस्तान्तरण

मेरोन्यूज २०७८ पुष ११ गते ९:२४

काठमाडौँ । पर्वतको जलजला गाउँपालिका ४ लामाखेतमा रहेको सुकुम्बासी बस्तीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउटको आयोजना तथा कुश्मा नगरपालिका ७ को सहकार्यमा स्थानीयवासी झण्डै सय जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

स्थानीय क्विक रेस्क्यु फोर्सको सहकार्यमा पीडितको बस्तीमै पुगेर कपडा वितरण गरिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करिब सय सेट न्यानो कपडा पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केदार शर्माले क्विक रेस्क्यु फोर्सलाई हस्तान्तरण गरेका थिए ।

गरिब तथा विपन्न परिवारका बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन क्लबले न्यानो कपडा वितरण अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उनले बताए । अभियानअन्तर्गत यसअघि कुश्माबजारका झण्डै दुई सय र मालढुंगाको माझी बस्तीका दुई सय परिवारलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।

चिसोका कारण प्रभावित बनेका गरिब, विपन्न र दलित समुदायका परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको क्लबका अध्यक्ष पौडेलले बताए । चिसोबाट गरिब तथा विपन्न परिवारलाई बचाउन क्लबले ‘चिसोबाट आफू पनि जोगिऔँ अरुलाई पनि जोगाऔँ, हुनेले दिऊँ नहुनेले लैजाऊँ’ भन्ने अभियान सञ्चालन गरेको उनको भनाई थियो । अभियानका क्रममा सहयोगदाताबाट पाँच सय प्रतिशत नयाँ र ५० प्रतिशत सफा कपडा संकलन भएको उनले बताए ।

प्रतिक्रिया