आइतबार, पुष १३, २०८२

बर्डफ्लुबाट इजरायलमा दुई हजार सारस मरे

मेरोन्यूज २०७८ पुष १२ गते ९:०५

काठमाडौँ । उत्तरी इजरायलको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुबाट दुई हजारभन्दा बढी सारस मरेका छन् । बर्डफ्लुका कारण अन्य १० हजारभन्दा बढी सारस संक्रमित भएको हुन सक्ने आरक्षका अधिकारीहरुले जनाएको छ ।

इजरायलको प्रकृति तथा पार्क निकायका विज्ञ ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजारौँ चराचुरुङ्गी प्रभावित भएका छन् । तर, यस वर्षको महामारी अन्य वर्षको तुलनामा ठूलो भएको अर्का विज्ञ उरी नाभेहले बताए ।

बर्डफ्लुबाट ठूलो संख्यामा चराहरूको मृत्यु भएको घटना ‘अस्वभाविक’ भएको नाभेहको भनाई छ । हरेक वर्षजस्तै यो वर्ष पनि अक्टोबर महिनायता अफ्रिका जाने क्रममा करिब एक लाख आप्रवासी सारस इजरायल पुगेका छन् ।

तीमध्ये अधिकांश सारसको एउटा बथान हुला उपत्यकामा रोकिएको थियो । हुला उपत्यका अफ्रिका जाने आप्रवासी सारसका लागि एउटा ‘ट्रान्जिट पोइन्ट’ हो । सो उपत्यकामा ४० हजारभन्दा बढी सारस रहेको अनुमान गरिएको छ ।

यसैबीच, उत्तरी इजरायलमा केही चल्लामा एच ५ एन १ भाइरस देखिएको इजरायलको कृषि मन्त्रालयले जनाउको छ । संक्रमण देखिएपछि मन्त्रालयले प्रभावित फार्मबाट अण्डा बिक्रीमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००३ यता एच ५ एन १ भाइरसबाट इण्डोनेसिया, इजिप्ट र भियतनाममा ४५० जना भन्दाबढी मनिसको मृत्यु भएको छ ।

प्रतिक्रिया