शुक्रबार, पुष ११, २०८२

कोरोना कहर

देउवा आइसोलेशनमा, गठबन्धनका शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा

मेरोन्यूज २०७८ पुष २४ गते १८:५९

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टी भएपछि सत्ता गठबन्धनका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा प्रचण्डलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो । उनी शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी थिए ।

माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुका साथै प्रचण्डको निजी सचिवालयका अधिकांशलाई कोरोना संक्रमण पुष्टी भएपछि गठबन्धनका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठलाई कोरोना देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि आइसोलेशनमा बसेका छन् ।

प्रधानमन्त्री देउवाको कोभिड–१९ को परीक्षण आइतबार मात्रै हुने भएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संलग्न लगायतका नेताहरु उपस्थित थिए ।

शुक्रबारको संयन्त्रको बैठकमा माओवादी नेता देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि सहभागी थिए ।
उक्त बैठकमा सहभागी सबै नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रचण्ड निवास खुमलटारमा रहेका सबैको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो । जसमा उनका स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण पुष्टी भएको थियो ।

त्यस्तै, माओवादी नेताहरू मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया