बिहीबार, पुष १७, २०८२

तालिवानका कार्यवाहक विदेशमन्त्री वार्ता गर्न तेहरानमा

मेरोन्यूज २०७८ पुष २५ गते १६:१५

काठमाडौँ । अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गर्ने भएका छन् ।

इरानले तालिवानलाई मान्यताको माध्यमका रुपमा समावेशी सरकार गठन गर्न आग्रह गरेको छ । इरान र छिमेकी देशहरूले अफगानिस्तानमा सबैभन्दा बढी जोड दिएका कुरा भनेको समावेशी सरकारको गठन हो । यसले अफगानिस्तानको जातीय र जनसंख्याको आधारमा रहेको विविधतालाई प्रतिबिम्बित गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले आफ्नो पछिल्लो प्रेस सम्मेलनमा भनेका थिए ।

इरान सरकारले तेहरानमा रहेको अफगान दूतावास तालिवानलाई हस्तान्तरण गर्ने इरानको समाचार वेबसाइटले जनाएको छ । इरानी सरकारले अहिलेसम्म तालिवान सरकारलाई मान्यता दिएको छैन । तर, इरानमा अफगान नागरिकको मामिला हेर्नका लागि तेहरानमा रहेको अफगान दूतावास तालिवानलाई सुम्पिने जनाइएको छ ।

प्रतिक्रिया