बुधबार, वैशाख ३१, २०८२

प्रधानमन्त्रीलाई निर्वाचनबाट नडराउन एमाले नेताको आग्रह

मेरोन्यूज २०७८ माघ ५ गते १४:४१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन मिति तोक्न आग्रह गरेका छन् ।

उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन ? भनेर बहस र छलफल हुनु नै दुःखद् भएको भन्दैैं तत्काल मिति तोक्न आग्रह गरेका हुन् । पोख्रेलले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई आग्रह समेत गरे ।

राजधानीमा आयोजित एक कार्यक्रममा पोख्रेलले भने, “ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ, यो आशंका मेटाउनेगरि पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ । खासगरी सरकारको नेतृत्व गरेकोले शेरबहादुर देउवाले जवाफ दिनुपर्छ । म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुहुन्छ ?”


उनले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गरे । उनले भने,“शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरुको बैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ ।”


प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्नपनि उनले आग्रह गरेका छन् ।


उनले भने,“नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितमिा कांग्रेसले निर्वाचन सम्पन्न गरेको ईतिहास छ । मुलुकमा निर्वाचन हुँदैन् कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भएपनि निर्वाचन गराएको ईतिहास छ । मुलकुमा कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निश्पक्ष निर्वाचन भएको छ ।”


स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनीहरुको कार्यावधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने पनि उल्लेख गरे । उनले प्रधानमन्त्री निर्वाचनको लागि चिन्तित रहेको सुनाए ।


उनले अहिले प्रधानमन्त्री देउवाले निर्वाचन ऐन पल्टाउन थालेको उल्लेख गरे । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरेको स्मरण गराए । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने कि विगतमा जस्तो तीन चरणमा गर्ने भन्नेपनि रहेको बताए ।

प्रतिक्रिया