शुक्रबार, पुष ११, २०८२

सुदूरपश्चिममा कसरी हुँदैछ राष्ट्रियसभा निर्वाचन ?

पुस्कर पौडेल २०७८ माघ ११ गते २०:१०

कैलाली । सुदूरपश्चिममा बुधबार (भोलि) हुने राष्ट्रिय सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार बुधबार बिहान ९ बजेदेखि ३ बजे सम्म मतदान हुनेछ । निर्वाचनमा भाग स्थानीय तहका प्रमुख, उपप्रमुखहरु र सांसदहरु धनगढी पुगिसकेका छन् ।

निर्वाचन अधिकारी प्रेमराज भट्टले मतदानका लागि प्रदेश सभाभित्रै दुईवटा मतदान केन्द्र बनाइएको बताए ।

‘स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि एउटा र प्रदेशसभा सदस्यका लागि एउटा मतदान केन्द्र बनाएका छौँ,’ भट्टले भने । निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जना उम्मेदवार छन् ।

राष्ट्रियसभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसतर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले उम्मेदवारी दिएका छन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्ट चुनावी मैदानमा छन् ।

तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् ।

प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एकजना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभामा एकीकृत समाजवादीको मतभार सबैभन्दा बढी ६७२ छ भने माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ । राजपा र लोसपाको ४८–४८ मतभार छन् । स्थानीय तहमा भने कांग्रेस पहिलो छ ।

स्थानीय तहमा १७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना छन् ।

प्रदेशमा कांग्रेसको मतभार एक हजार ३३२ छ भने एमालेको एक हजार २७८ हुन्छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २३४ छ । स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो देखिएको छ ।

कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा एक हजार ९०८ हुन आउँछ । एमालेको एक हजार ८०४ छ भने माओवादी केन्द्रको ९२७ र एकीकृत समाजवादीको ९०६ मतभार रहेको छ । यसरी सुदूरपश्चिममा गठबन्धन दलका उम्मेदवारको जित सुनिश्चित देखिएको छ ।

राष्ट्रियसभा ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार बुधबार निर्वाचन हुन लागेको हो ।राष्ट्रिय सभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्टको फागुन २० गते पदावधि सकिँदै छ ।

उनीहरुको स्थानमा राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न निर्वाचन हुन लागेको हो ।देशभर राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदै छन् ।

२० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया