कांग्रेस महाधिवेशन : संविधानको प्रावधान गुहारेर मात्रै

काठमाडौं । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएपछि नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन गर्यो। १४ औं महाधिवेशन गर्ने मिति आगामी भदौ ७ देखि १० गतेसम्म तोकेको छ ।
आफूलाई मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसका यी दुई महाधिवेशन र संविधानसँग निकटको माया प्रेम देखिएको छ । आफूलाई लोकतन्त्रको पक्षपाती बताउने कांग्रेसले दुई वटै महाधिवेशन संविधानको आपतकालीन व्यवस्था प्रयोग गरेर मात्रै गर्यो। एउटा अपतकालीन व्यवस्था प्रयोग गरेर गर्यो। अर्को गर्ने मिति पनि आपतकालीन व्यवस्था प्रयोग गरेर तोकेको छ ।
पार्टीको विधानमा रहेको व्यवस्थाअनुरुप कांग्रेस महाधिवेशन गर्न सक्षम देखिएन । संविधानकै अन्तिम अस्त्र गुहार्नु पर्ने अवस्थामा पुग्यो । नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ ।
कांग्रेसले २०७२ सालमा १३ औं महाधिवेशन गर्दा पनि संविधानको त्यही अस्त्र प्रयोग गरेको थियो । १४ औं महाधिवेशन पनि त्यही अस्त्र प्रयोग गरी मिति तोकिएको छ ।
कांग्रेस विधानमा नियमित महाधिवेशन प्रत्येक ४ वर्षमा गर्नुपर्ने उल्लेख छ । तर, ‘विषेश परिस्थिति’ आएमा केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्षसम्म केन्द्रीय कार्यसमिति र मातहतका कार्यसमितिको म्याद थप्न सक्ने प्रावधान छ ।
विधानको त्यो व्यवस्था अनुरुप न १३ औं महाधिवेशन गरयो, न १४ औं महाधिवेशन । कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । त्यसबेलादेखिको समय जोड्ने हो भने अहिले महाधिवेशन सम्पन्न भएको ५ वर्ष एक महिना भइसक्यो । अर्थात् विधानमा महाधिवेशन गर्नका लागि रहेको व्यवस्था नाघिसक्यो ।
अर्को नयाँ संविधानसँग कांग्रेसको महाधिवेशनको संयोग पनि छ । संविधानसभाबाट २०७२ सालमा संविधान जारी गर्दा कांग्रेस नेतृत्वको सरकार थियो । संविधानसभामा सबैभन्दा ठूलो पार्टी पनि कांग्रेस थियो । र, पार्टीको विधानतः महाधिवेशन गर्ने बेला आएर पनि महाधिवेशन गर्न नसकिरहेको अवस्था थियो । कांग्रेसमात्रै होइन तत्कालीन संविधानसभामा रहेका माओवादी केन्द्र र एमालेमा पनि त्यस्तै अवस्था थियो ।
तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले अन्य दुई दलका शीर्ष नेतासँग ‘नयाँ बन्ने संविधानमा विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’ भन्ने प्रावधान राख्न प्रस्ताव गरे । महाधिवेशन गर्न कांग्रेसलाई मात्रै होइन, एमाले र माओवादीलाई पनि समस्या भइरहेकाले थप ६ महिना बढाउन सक्ने प्रावधान राख्न उनीहरु पनि सहमत भए ।
१२ औं महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा गरेको कांग्रेसले संविधानमा भएको त्यही प्रवधानलाई टेकेर विधानत एक वर्ष केन्द्रीय कार्यसमितिको बहुमतले म्याद थपेर पनि २०७२ असोज १ गर्नुपर्ने थियो ।
संविधानमा त्यही व्यवस्था गरेर कांग्रेसले २०७२ .फागुन २० देखि २३ गतेसम्म गरयो । संविधानमा राखिएको आपतकालीन व्यवस्था पहिलो पटक उपयोग गर्ने दल कांग्रेस बन्यो त्यतिमात्र होइन दोस्रो पटक पनि कांग्रेसले नै उपयोग गरिसकेको छ । किनकी नियमित ४ वर्ष र विधानअनुरुप थपेको एक वर्षमा महाधिवेशन गर्न नसकेर कांग्रेसले संविधानको व्यवस्था उपयोग गर्दै ६ महिना बढाएर १४ औं महाधिवेशनको म्याद आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय केन्द्रीय कार्यसमितिबाट गरिसकेको छ ।
यी दुई महाधिवेशन मात्रै होइन कांग्रेसले नियमित रुपमा ४ वर्षमा त्यसअघिका महाधिवेशन पनि गर्न नसकेको इतिहास छ । अर्थात् कांग्रेसका महाधिवेशन २०७२ मा संविधान जारी हुनुपूर्व पनि विशेष परिस्थितिको उपयोग गरी ५ वर्षमै गरिन्थे । २०४६ सालको जनआन्दोलन सफल भएपछि भएका सबै महाधिवेशन ५ वर्षमा भएका छन् ।
आठौं महाधिवेशन २०४८ मा झापामा, नवौं महाधिवेशन २०५३ मा काठमाडौँमा, दशौं महाधिवेशन २०५७ मा पोखरा, ११ औं महाधिवेशन २०६२ भदौमा काठमाडौँ र १२औं महाधिवेशन २०६७ असोजमा काठमाडौंमा गर्दा पनि विशेष परिस्थितिको उपयोग गरिएको थियो ।
भदौमा महाधिवेशन गर्ने निर्णय गर्दै कांग्रेसले क्रियाशील सदस्यताको काम चैतभित्र सक्ने भनेको थियो । तर, नेपालको संविधान २०७२ मा उल्लेखित शासकीयस्वरुप अनुरुप गर्नुपर्ने संगठन समायोजनको काम नै सकेको छैन ।
संगठन समायोजन गर्न अझै बारा, सप्तरी र सिन्धुपाल्चोकमा बाँकी छ । समायोजनको काम नसकिएका जिल्लामा नयाँ क्रियाशील सदस्यताको ठेली नपठाउने निर्णय केन्द्रीय कार्यसमितिले गरेकाले चैतसम्म पनि सबै जिल्लामा क्रियाशील सदस्यताको काम सक्ने हो कि होइन भन्ने अझै आशंका देखिन्छ ।
केन्द्रीय सदस्य एनपी साउद कांग्रेस महाधिवेशन पहिला देखिनै ढिला हुने गरेको भन्दै अहिलेपनि आफूहरु त्यसबाट मुक्त हुन नसकेको बताउँछन् । ‘कांग्रेस महाधिवेशन गर्ने मामलामा पहिला देखि नै ढिला छ । कोरोना महामारीले अहिले पनि ढिला भयो,’ साउदले भने ।









विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
NPL Cricket 2025: Two matches today
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई जारी गरेका यस्ता छन् २० बुँदे निर्देशन
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया