बिहीबार, फागुन १४, २०८२

कञ्चनपुरमा पहिलोपटक व्यवसायिक ड्रागनखेती

मेरोन्यूज २०७७ चैत २२ गते ९:४१

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोड रुपैयाँको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।

“प्रतिबिघा प्रतिवर्ष ३५ हजार रुपैयाँ तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागनखेती गरेका छौँ”, सञ्चार उद्यमी महताले भने, “विदेशबाट ड्रागनको बीउ ल्याएर खेती गरेका हौँ ।” ६ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् ।

ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ । बन्दाबन्दीका बेला केही गर्नुपर्छ भन्ने भावनाअनुरूप ड्रागनखेतीमा संलग्न भएको महताले बताए । ड्रागनखेती गरिएको फार्ममा चार जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन ।

उनका अनुसार फल लाग्दासम्म ५० जनालाई र फल बजारमा बेच्न तयार भएपछि ३ सय जनालाई रोजगारी दिने योजना रहेको छ ।

ड्रागनखेतीका लागि ५० लाख रुपैयाँ सेयर सदस्यबाट र अन्य रकम बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गरिएको छ ।

“शुरुवातमा धेरै लगानी लागे पनि त्यसको प्रतिफल पाइन्छ”, प्रालिका अध्यक्ष पूर्व वन अधिकृत चन्दले भने, “दुई वर्षभित्रै लगानी गरिएको रकम ड्रागनखेतीबाटै उठाउने लक्ष्य लिएका छौँ”।

ड्रागनखेती अवलोकनका लागि सोही क्षेत्रमा ‘भ्यूटावर’समेत निर्माण गरिएको छ । सिँचाइका लागि पोखरीसमेत निर्माण गरिएको छ । हालसम्म ३ सय भन्दा बढी जनाले ड्रागनखेतीको अवलोकन गरेका छन् । (रासस)

प्रतिक्रिया