रारा आउने पर्यटक बढे

गमगडी । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल मुलुककै पर्यटनको आकर्षण मानिने ताल हो ।
यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये रारा ताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ ।
नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए । “मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ”, उनले भने, “काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्, पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ ।”
रारा वरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरवास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ । राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्न आएका नेपालगञ्जका रवीन दाहालले बताए । रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइनभ्याई हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीयवासी भक्त रोकायाले बताए ।
नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटक सङ्ख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताए । उनले भने, “चालु आर्थिक वर्षको आठ महिनामा चार हजार ४ सय ९ आन्तरिक तथा बाह्य पर्यटकले रारातालको अवलोकन तथा भ्रमण गरेका छन् । तीमध्ये सात विदेशी पर्यटक रहेका छन्, बाँकी नेपाली पर्यटक हुन् ।”
नेपालमा कोरोना सङ्क्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन कम भएको सूचना अधिकारीले रोकायाले बताए । उनका अनुसार कोभिडपछि बाह्य पर्यटकभन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको घुइँचो रहेको छ ।
उनले भने, “चैत महिना शुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ ।” दैनिक १५० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा १० लाख १३ हजार ७८० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । विगतका तुलनामा बाह्य पर्यटकको आगमन घटेपछि राजश्व सङ्कलन पनि घटेको निकुञ्जले जनाएको छ ।
रारा पुग्नका लागि पछिल्लो समय नाग्म गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ । मुगुमा नियमित दुई÷तीन उडान भर्ने भएकाले हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।
पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जभ गरेर विशेषगरी काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् । हवाईमार्गबाट आउने पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा यात्रुको चाप बढेको छ । (रासस)













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया