शनिबार, वैशाख ५, २०८३

सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष

मेरोन्यूज २०८३ वैशाख ५ गते २०:५४

नेपाली कांग्रेसको आधिकारितालाई लिएर सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्ने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निष्कर्ष निकालेको छ। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शनिबार निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षका नेताहरूको बैठकले सर्वोच्चको फैसला स्वीकार्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वकर्माले भने, ‘फैसला स्वीकार्ने भइयो।’

बैठकले सर्वोच्चको फैसला र कांग्रेसलाई एकजुट बनाएर लैजाने विषयमा छलफल भएको उनले बताए। अब खड्काले पनि निवर्तमान कार्यवाहक सभापतिकै रुपमा काम गर्ने उनको भनाइ थियो। ‘अब उहाँ निवर्तमान कार्यवाहक सभापति हुनुभयो, त्यसलाई स्वीकारेका छौँ,’ उनले भने। 

शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई मान्यता दिने फैसला गरेको थियो। यसअघि खड्काले कार्यवाहक सभापतिका रुपमा प्रेस कामकाज गर्दै आएका थिए। उनले कार्यवाहक सभापति भनेरै प्रेस विज्ञप्ति पनि जारी गरेका थिए। 

बैठकमा सर्वोच्चको फैसलामा केही त्रुटी र असहमति भए पनि त्यसलाई मान्नेमा सहमति बनेको उनले बताए। ‘त्यसमा हाम्रा पर्याप्त असहमति छन्। तर, स्वतन्त्र न्यायापालिकाले गरेको फैसलालाई नेपाली कांग्रेसले मान्दै आएको छ, यस पटक पनि मान्छ,’ विश्वकर्माले भने। 

सर्वोच्चको फैसलासँगै कानुनी र वैधानिकताको विषय टुंगिए पनि राजनीतिक विषय बाँकी रहेको उनको भनाइ थियो। अब त्यसलाई कसरी सुल्झाएर कसरी अघि बढ्ने भन्ने सभापति थापामा भर पर्ने विश्वकर्माले बताए। 

अब पार्टीलाई एकतालाई जोगाउने जिम्मेवारी देउवाको हातबाट थापाको हातमा आएको विश्वकर्माले बताए। ‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा बल थियो भने अब त्यो बल सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा फालिदिएको छ,’ उनले भने। 

प्रतिक्रिया