ताप्लेजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रममा महिला सहभागितामा वृद्धि

फुङ्लिङ । ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ ।
प्रायः जसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् ।
पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हुने विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन् । महिलाहरू साना सिँचाइ योजना, बाटो निर्माण खानेपानी योजना, भवन निर्माणमा सहभागी हुन थालेका छन् ।
बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुदाँ महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको पाइन्छ ।
सिदिङवा गाउँपालिका–३ का शिवमाया सिवालाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो । गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे ।
आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा जानु सिवाको दैनिकी हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो ।
उनी भन्छिन्, “हामीले बाटो र कुलो बनाउने काम गरिरहेका छौँ । पुरुषको भन्दा छिटो गरिरहेका छौँ ।” विकास निमार्णका काममा सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको सिवाको भनाइ छ ।
उनीजस्तै ताप्लेजुङका ३ सय महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आएका छन् ।
सिरिजङ्घा गाउँपालिका–३ का लीला गौतमले गत आइतबार आफ्नै नाममा खोलेको बैंक खाताबाट पैसा निकालेको पहिलोपटक हो । उनी अहिले २६ वर्षको भए । आइतबार उनले बैंकबाट तलब लिएको पहिलो दिन हो ।
गौतमले भने, “म अहिले २६ वर्ष पुगें, मैले कुनै बैंकमा खाता खोलेको थिइनँ । प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भयो । बैंकमा खाता खोल्नुपर्छ भनेपछि गाउँपालिकामा रहेको बैंकमा खाता खोलें । आज पहिलो महिनाको तलब १७ हजार रुपैयाँ बैंकबाट निकालेँ ।” उनी मात्र होइन, सिरिजङ्घा गाउँपालिकाका ६३ महिलाले आइतबार पहिलो माहिनाको तलब निकासा गरेका छन् ।
सिरिजङ्घा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवेदनमा परेकामध्ये २१२ जना रोजगारीका लागि छनोटमा परेका छन् । तीमध्ये ६३ महिला रहेको सिरिजङ्घा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हिमाल तिमिल्सिनाले बताए ।
ताप्लेजुङको नौ स्थानीय तहमा ३ सय महिला अहिले बाटो निर्माण, सिँचाइ, कुलो मर्मतमा सक्रियरूपमा दैनिक काम गर्दै आएका छन् । सिदिङवा गाउँपालिकामा २२० पुरुष र ५३ महिलाले रु ५१७ का दरले दैनिक ज्यालामा सय दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार पाइरहेको सिदिङवा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक फूलमाया पन्दाकले बताए ।
यसैगरी मेरिङदेन गाउँपालिकामा २६२ पुरुष र ६१ महिलाले प्रधानमन्त्री रोजगारी पाएका छन् ।
मैवाखोलामा २१२ पुरुष र ६१ महिला, सिरिजङ्घा गाउँपालिकामा २०८ पुरुष र ६३ महिला, पाथीभरा याङवरक गाउँपालिकामा २५६ पुरुष र ६६ महिलाले रोजगारी पाएका छन् । त्यस्तै फक्ताङलुङ गाउँपालिकामा १२७ जनाले रोजगारी पाएका छन् ।
फुङ्लिङ नगरपालिकामा ११२ महिला र १६८ पुरुषाले रोजगारी पाएको फुङ्लिङ नगरपालिकाका रोजगार संयोजक सरिता लिङदेनले बताइन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण कार्यमा महिलाको सहभागिता हुन पाउँदा खुशी लागेको फुङ्लिङ गाउँपालिका–९ का हरिकला गुरुङले बताइन् ।
विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकामा पछिल्लो समय महिला पनि विस्तारै स्वरोजगार बन्दै गएको सिरिजङ्घा गाउँपालिका रोजगार संयोजक हिमाल तिमिल्सिनाले बताए । (रासस)
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रतिक्रिया