बुधबार, वैशाख १६, २०८३

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग

मेरोन्यूज २०८३ वैशाख १६ गते १३:३३

काठमाडौँ । सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि महत्वपूर्ण सहयोग गर्ने घोषणा गरेको छ ।

Advertisement
NiccNicc

रोल्पा नगरपालिका-१० निवासी सन्देश जन्मजात नै दुबै हात नचल्ने शारीरिक अवस्थाबाट प्रभावित छन् । परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद उनले खुट्टाको सहाराले लेखेर हालै कक्षा ५ उत्तीर्ण गरेका थिए ।

‘रुटीन अफ नेपाल बन्द’ मा पत्रकार सुरेश तिमल्सीनाले उनको संघर्षबारे लेखेको समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्टले उनको थप अध्ययनको जिम्मेवारी लिने निर्णय गरेको हो ।

सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिन कम्पनीले काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ ।

रोल्पामा उपयुक्त अपाङ्गमैत्री विद्यालयको अभाव र पारिवारिक आर्थिक संकटका कारण उनको शिक्षामा देखिएको बाधालाई मध्यनजर गर्दै यो पहल गरिएको हो ।

शिवम् सिमेन्टले उनको आवास, हेरचाह र रेखदेखका लागि अपाङ्ग नवजीवन केन्द्रसँग समेत सहकार्य गरेको छ ।

यस व्यवस्था अन्तर्गत, सन्देशको माध्यमिक शिक्षासम्मको सम्पूर्ण खर्च शिवम् सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रलाई अर्धवार्षिक रूपमा उपलब्ध गराउनेछ ।

शिक्षालाई सशक्त भविष्यको आधार मान्ने कम्पनीले विशेष क्षमता भएका बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न पाउँदा गौरवान्वित महसुस गरेको जनाएको छ ।

सन्देशको संघर्ष र उच्च आत्मविश्वासबाट प्रेरित भएर गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई सहज बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया