नारायणगढ–मुग्लिन सडकमा केही पुल सम्पन्न, केही धमाधम बन्दै

चितवन । राजधानी काठमाडौँलाई तराईसँग जोड्ने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकखण्डमा केही पुल निर्माण सम्पन्न भएका छन् भने केही धमाधम निर्माण भइरहेका छन् । सडक विस्तारको काम सम्पन्न भएपछि साँघुरा र जीर्ण अवस्थामा रहेका सबै पुल नयाँ बनाउन थालिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख अमृतमणि रिमालका अनुसार चार वटा पुल सम्पन्न भएका छन् भने १५ वटा पुल निर्माणको चरणमा छन् । ती १५ मध्ये आठ वटाको फाउण्डेशनको काम सम्पन्न भएको छ । तीमध्ये पनि तीन वटाको माथिल्लो काम भइरहेको छ । बाँकी सात वटा पुलको नक्शाङ्कन र प्रमाणितको चरणमा रहेका छन् ।
हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने उनले जानकारी दिए । हालै मात्र जलवीरेको पुल सम्पन्न भएको छ । उक्त पुल बनेपछि सडकसमेत २६५ मिटर छोटो भएको छ । गतवर्ष कोरोना सङ्क्रमणबाट काम प्रभावित बनेको पुलको काम हाल सकिएको हो ।
रिमालका अनुसार एक/दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी गरिएको छ । पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल रु १३ करोड ९४ लाखको लागतमा बनाएको हो । यो पुलसँगै दासढुङ्गा, खानी र मौरी निर्माण थालिएको थियो । ती पुल दुई वर्षअघि नै सम्पन्न भएर सञ्चालनमा आएका छन् । जलवीरे पुल सम्पन्न हुन तीन वर्ष ६ महिना लागेको हो ।
हाल निर्माण भइरहेका १५ पुल नक्शाङ्कन र निर्माण दुवै गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का पाएको हो । रु एक अर्ब २८ करोड लागतमा ३३ महिनामा सम्पन्न गर्ने गरी अनकलाई ठेक्का दिइएको हो । ती पुलमध्ये तीन वटा नौ मिटर फराकिलो छन् भने बाँकी ११ मिटर फराकिला छन् । आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार साँघुरा पुलमा पनि सवारी गुड्ने भाग भने ७.५ मिटर नै हुनेछन् । तर फुटपाथ भने साँघुरो हुने उनको भनाइ छ ।
ती पुल नेपाल सरकारले आफ्नै लगानीमा सम्पन्न गरेपछि विश्व बैंकले ऋण प्रवाह गर्ने गरी काम अघि बढाइएको हो । सडक विस्तार गरी कम्तीमा नौ मिटर बनाईएको भए पनि पुल छ मिटर फरकिला भएपछि सबै पुल नयाँ बनाउन लागिएको हो । यो सडकमा दैनिक १० हजार भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । सडक विस्तार गरिसक्दा सवारीसाधन गतिमा चल्न सक्ने र जामको समस्या नहुने अपेक्षा गरिएको छ । रासस
















सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया