सत्ती भन्सारः नौ महिनामै दोब्बर राजश्व सङ्कलन

टीकापुर । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको हो ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा छ करोड सात लाख रुपैयाँ राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप आठ करोड बढाएर १४ करोड रुपैयाँ राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।
चैत मसान्तसम्म नौ करोड ७१ लाख राजश्व उठाउने लक्ष्य दिएकामा १३ करोड १६ लाख रुपैया सङ्कलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए ।
“पहिलो चार महिनामै लक्ष्य पूरा गरेपछि सरकारले पछिल्लोपटक थप लक्ष्य लिएको छ । त्यो पनि पूरा भएको छ । वैशाख महिनामै वार्षिक लक्ष्य पूरा हुनेछ”, भन्सार प्रमुख शाहले भने, “कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि सबै सामान भन्सारमार्फत आउँदा सहज भएको हो । यसले राजश्व सङ्कलनमा सघाएको छ ।”
पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ ।
“खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन्”, उनले भने, “यससँगै भारततर्फको सडक राम्रो भएको भए अझ सामान आयात बढ्ने थियो । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयातनिर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने देखिन्छ ।”
उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म पाँच अर्ब ९७ करोड राजश्व उठाउने लक्ष्य लिएकामा छ अर्ब ९२ करोड रुपैयाँ उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए ।
“कैलाली भन्सार कार्यालयबाट यस अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ, बिस्कुट, आलुजस्ता खाद्यवस्तुको आयात धेरै भएको छ”, भन्सार अधिकृत खतिवडाले भने, “यहाँबाट बढी खाद्यान्न आउने गर्दछ । खाद्यान्नसँगै अन्य सामानसमेत आयात हुन्छ ।”
सरकारले सीमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।
“कैलालीमा सीमा नाका सुरक्षित छैनन्, तस्करहरूले चोरी बाटोबाट सामान आयात गर्ने कारणले राजश्वमा असर पार्छ”, स्थानीयवासी रुपक बुढाले भने, “सीमामा कडाइ गर्न सकिए र आवश्यक कार्यालय र पूर्वाधारको व्यवस्था गरेमा राजश्व सङ्कलन बढ्छ । त्यसतर्फ ध्यान दिन जरुरी छ ।”
कैलालीको टीकापुरमा सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको पशु क्वारेन्टिन अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन । पशु क्वारेन्टिन नभएकै कारण यहाँबाट मासु तथा मासुजन्य सामान आयात हुन सकेको छैन ।
स्थानीयवासी शेरबहादुर साउद पशु क्वारेन्टिन स्थापनाका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउँछन् । “शान्ति स्थापना भएको वर्षौँ बिते पनि क्वारेन्टिन स्थापना हुनसकेको छैन । यसले राजश्व मात्र होइन, यहाँको व्यापार र विकासमा समेत असर पारेको छ”, उनले भने, “पुनःस्थापना गर्न सबैको पहल आवश्यक छ ।” (रासस)









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया