शुक्रबार, चैत २०, २०८२

कोभिड–१९ खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

मेरोन्यूज २०७८ वैशाख १२ गते २०:०६

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको पहिलो मात्रालाई थप केही दिन नलगाउनेगरी अभियानलाई स्थगित गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार गरेको निर्णयबारे एक विज्ञप्ति जारी गरी तत्कालका लागि खोप लगाउने कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

कोभिड–१९ खोप व्यवस्थापन कार्यदलका महासचिव मोहम्मद शमशुल हकले पत्रकारसँग भने, “खोपको अभाव भएकोले तत्कालका लागि यो निर्णय भएको हो ।” यस पहिले कोभिड–१९ खोपको पहिलो मात्रा लगाएका व्यक्तिका लागि दोस्रो मात्राभने पूर्व योजनाअनुसार नै लगाइने उनले बताए ।

बङ्गलादेशमा हालसम्म करिब ६० लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको पहिलो मात्रा लगाइसकिएको छ । बङ्गलादेशले जनवरी २१ मा ‘सेरम इन्स्टिच्युट अफ इण्डिया’ बाट उपहारका रूपमा एस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख मात्रा प्राप्त गरेको थियो भने थप ५० लाख सोही कम्पनीसँगबाट जनवरीमा नै किनिसकेको र खोप जनवरीको २५ गते बङ्गलादेश पुगिसकेको थियो ।

प्रतिक्रिया