सिंहदरबारभित्रै ‘गुप्तबास’मा अर्थमन्त्री पौडेल !
बिहान ८ बजे सिंहदरबार छिरेपछि एकैपटक घर फर्कने अर्थमन्त्रीको समय हो, राति १० बजे

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल अचेल सार्वजनिक कार्यक्रममा कतै देखिन्नन् । कतै देखिए पनि धेरै बेर बस्दैनन् ।
उनको पार्टी एमालेभित्र अहिले पनि अनेक लफडा कायमै छ । पार्टी विवादमा कसैप्रति तिखो टिप्पणी नगर्ने र सबैसँग मिल्न सक्ने उनीसँग खुबी छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का नेता माधव नेपाल पक्षका लागि बिझाइरहने पात्र बनिरहँदा पौडेल नेपाल पक्षका नेता कार्यकर्ताका लागि पनि नविझाउने नेताका रुपमा परिचित छन् ।
पछिल्ला दिनमा अर्थमन्त्री पौडेललाई पार्टीभित्रकै लफडालाई गहिरो गरी नियाल्ने, त्यसमा अन्य नेताहरुले जसरी टिप्पणी गर्ने र कार्यक्रममा दौडने कुनै फुर्सद छैन । प्रधानमन्त्री ओलीले केही साताअगाडि मात्रै पार्टी विवाद मिलाउन दुई दिन लगातार होटल मेरियटमा नेता नेपालसँग संवाद गरे । पहिलो दिनको संवादको वातावरण निर्माणका लागि अर्थमन्त्री पौडेलले पनि भित्री भूमिका खेलेका थिए ।
तर, उनी धेरैबेर त्यहाँ बसेनन् । दुई नेतालाई एक्लै संवाद गर्ने वातावरण बनाएर उनी मन्त्रालय पुगे । बिहान उठेदेखि साँझ सुत्ने बेला नहुँदासम्म सिंहदरबारमै कुनै मन्त्री भेटिन्छन् भने, उनी अर्थमन्त्री पौडेल नै हुन् । यसरी किन उनी मन्त्रालयको एउटै कोठाभित्रै गुप्तबास बस्न रुचाइरहेका छन् त ?
प्रश्न अनेक हुन सक्छन् । तर, अन्य कुनै कारणले अर्थमन्त्री पौडेल ‘गुप्तवास’ बसेका होइनन् । उनी आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि बन्द कोठाभित्र गुप्तबासमा बसेका हुन् ।
उनलाई साथ दिइरहेका छन्, अर्थसचिव शिशिरकुमार ढुंगाना, वित्तिय नियन्त्रक मधु कुमार मरासिनी, प्रवक्ता एंव सूचना अधिकारी महेश आचार्य र राष्ट्र बैंकका कर्मचारीसहितको सानो समूहले ।
यही समुहको मेहनतमा अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्ने संवैधानिक कार्य तालिकाअनुसार मन्त्री पौडेलसहितका टिम सिंहदरबारभित्र एकाबिहानै छिर्ने र बन्द कोठाभित्रै कसैले भेट्नै नसक्ने गरी हराइरहेका छन् ।
बजेट निर्माणको बाह्य समूहमा राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालयका अधिकारी, अर्थ मन्त्रालयका अन्य सहसचिव, उपसचिवको समूह छ । जुन समुह बिहानदेखि रातिसम्म अर्थमन्त्रालयमा व्यस्त हुन्छन् । सरकारको सल्लाहकार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि माग भएअनुसार सल्लाह, परामर्श दिन सिंहदरबार पुगिरहेका हुन्छन् ।
अर्थमन्त्रीको दैनिकी : बिहान उठ् सिंहदरबार कुद् !
अर्थमन्त्री पौडेल बिहान उठ्ने बित्तिकै सिंहदरबार जान थालेको महिना दिन भइसकेको छ । अबको २९ दिनमा कुनै राजनीतिक उथलपुथल नभए उनैले बजेट भाषण गर्ने छन् । त्यसलै उनी बिहानदेखि साँझसम्म व्यस्त छन् ।
बिहान ८ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेपछि एकैपटक घर फर्कने उनको समय तालिका हो, रातको १० बजे । त्योभन्दा ढिला पनि हुन्छ होला, तर चाँडो घर फर्किएका छैनन् । कालो चिया र खाजा खाएर खाना सेट बोकेर मन्त्रालयतिर दौडने दैनिकी अर्थमन्त्रीको लामो भइसक्यो ।
मन्त्री पौडेलले बजेटको सुझावका लागि केही दिनअघि आह्वान गरेका थिए । जसअनुसार अधिकांशले दिएको सल्लाह÷सुझावका बुँदालाई सकेसम्म समेट्ने तयारीमा जुटेको उनका स्वकीय सचिव यमप्रसाद पाण्डेको दाबी छ ।
कोरोना र बजेट निर्माणमा गुप्तबास बस्नुपर्ने एकैपटक परेकाले मन्त्री पौडेल मन्त्रालयमा भेटघाट गर्न समेत रोक लगाएका छन् । उनले सबैको सल्लाह, सुझाव र आवश्यकतालाई समावेश गरिसकेको र अब भेटका नाममा समय खेर फाल्न नचाहेकाले भेटघाटलाई बन्द गरिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
अर्थमन्त्री स्वंयम बिहानै मन्त्रालय पुग्ने गरेपछि कर्मचारी पनि मन्त्रीसँगै मन्त्रालय पुग्ने गरेका छन् । त्यसपछि उनीहरुको पनि कर्म एउटै छ, योजना आयोग, नेपाल राष्ट्र बैंकको योजनासहितका रकम तथ्यांक मिलाउने काम ।
अर्थमन्त्री पौडेलले सोही काममा मन्त्रालयका विभिन्न शाखाका प्रमुखलाई बोलाएर योजनाअनुसारको हिसाबकिताब आफै टिप्ने गर्छन् । उनीसँग उनकै प्रेस सल्लाहकारले समेत भेट्न पाएका छैनन् । उनका प्रेस सल्लाहकार भुवन के.सी. बिहान १० बजेदेखि ५ बजेसम्म मन्त्रालयमा भए पनि नभएको बताउँछन् ।
‘मेरै पनि भेट मुस्किल छ । मन्त्रीसँग बोल्ने, भेट्न नपाएर त्यसै फर्किने गरेको धेरै दिन हुन लागिसक्यो,’ सल्लाहकार के.सी.ले मेरोन्यूज सँग भने । स्वकीय सचिव पाण्डेको पनि अवस्था उस्तै छ । यसरी तयारीमा जुटेका मन्त्री पौडेलले ल्याउने बजेट कसरी आउँछ ? बजेटमा स्रोतको उपलब्धतासँगै योजना, रकम कतिको अटाउन सक्ने हुन्, त्यो हेर्न भने केही दिन बाँकी नै छ ।
पहिले र अहिलेको बजेटमा के हुन्छ फरक ?
मन्त्री पौडेलले अर्थ मन्त्रालय सम्हालेको यो पहिलोपटक होइन । उनी यसअघि ओली पहिलोपटक प्रधानमन्त्री हुँँदा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसबेला उनले आर्थिक वर्ष २०७३-७४ को बजेट ल्याउने मौका पाएका थिए ।
अहिले उनी ठिक पाँच वर्षपछि २०७८-७९ को बजेट ल्याउने तयारीमा जुटेका छन् ।
मन्त्री पौडेलले आर्थिक वर्ष २०७३-०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएका थिए । उनले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट सार्वजनिक गर्दा तत्कालीन राष्ट्रिय योजना आयोगका पदाधिकारीले दिएको सिलिङभन्दा एक खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी बजेट ल्याएका थिए ।
त्यसबेला यसअघि लगातार ३ पटक बजेट ल्याएका अर्थमन्त्री युवराज खतिवडाको सहयोगमा मन्त्री पौडेलले बजेट ल्याउँदा धेरैको गालीसमेत खाएका थिए । ०७३ सालमा बजेट ल्याउँदा अहिले अमेरिकाका राजदूत बनेका खतिवडाको सहयोगले सहज अनुभूति गरेका थिए । तर, अहिले कोभिडले लगातार प्रहार गरेको अर्थतन्त्र उकास्ने, सन्तुलन मिलाउने र स्रोत जुटाउने र परिचालन गराउने ठूलै खालको चुनौती छ ।
चालु आव ८ अर्ब ५० करोड राजस्व संकलन हुने र त्यसमा २० प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखिने भएको छ । यसमध्ये आन्तरिक अन्तः शुल्क र मूल्य अभिवृद्धि करको ३० प्रतिशत संघ र प्रदेशको कोषमा जाने अपेक्षा छ । संघीय सरकारसँग ९ खर्ब राजस्वका अतिरिक्त २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण तथा २ खर्ब ५० अर्बकै हाराहारीमा विदेशी ऋण तथा ५० अर्ब रुपैयाँ बराबरको अनुदान परिचालन हुने अपेक्षासहित बजेटमा लागेका छन्, मन्त्री पौडेल ।
ठूलै आकारमा बजेट ल्याउने तयारीमा जुटेका मन्त्री पौडेललाई बजेटको आकारअनुसार त्यसको व्यवहारिक कार्यान्वयन कतिको हुन सक्छ ? भन्नेमा अर्थविद्, उद्योगी, व्यापारी, सरकारी कर्मचारीदेखि सर्वसाधारण सबैले हेरिएको छ ।
गत माघमा मन्त्री पौडेलले चालु आव बजेट मध्यावधि समीक्षा गर्दै बजेट आकार घटाएर संशोधन गरेका थिए । आगामी आर्थिक वर्षको बजेटसँगै लगातार ४ वर्ष बजेट ल्याउन लागेको ओली नेतृत्वको सरकारले निरन्तर ३ वर्ष बजेटको आधार समीक्षामा घटाउने गरेको छ । किन यस्तो हुन्छ त ? मेरोन्यूज डटकमले मन्त्री पौडेललाई सम्पर्क राख्दा व्यस्तता कारण देखाए ।
सुरुमा महत्वकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाउने गरेको आरोप खतिवडासँगै पौडेललाई छ । केपी ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको तीनवटै बजेटको आकारबीचमा घटाइएको हुँदा आगामी बजेट किन ठूलो ल्याउनु पर्यो ? भन्ने प्रश्न पनि सँगै उठेको छ ।
अर्थ मन्त्रालयका पूर्व सचिव रामेश्वर खनाल ठूलो आकारको बजेट देखाएर ताली खान सबै पल्कने भएकाले ठूलो आकारको बजेट ल्याउनु अर्थमन्त्रीहरुको बाध्यता भएको बताउँछन् । ‘योजनासँगै कार्यमा जोड दिए तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईको सिको गर्न सके दुविधा हुँदैनथ्यो,’ पूर्व अर्थसचिव खनालले भने ।
अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्मा कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रका बीचमा चुनौतिपूर्ण बजेट ल्याउने अवस्थामा अहिले अर्थमन्त्री रहेको बताउँछन् ।
‘कोरोना महामारीबीच चालु आव झै आगामी वर्षको पनि बजेट ल्याउन लागेका अर्थमन्त्री पौडेलले ठूलो बजेट ल्याए कार्यान्वयन चुनौतीपूर्ण हुने निश्चित छ, फेरि समीक्षामा घटाउँदा कसको के जान्छ र ?’ शर्माले भने ।
कत्रो बजेट निर्माण गर्ने भन्ने विषयमा छलफल हुँदा अर्थमन्त्रीले नै चालु वर्षको भन्दा बढाउनु पर्ने बताएका छन् । तर, कति बन्ने भन्ने कसैले खुलाएका छैनन् ।
चालु आव २०७७-०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका पूर्व अर्थमन्त्री खतिवडाले २०७६-०७७ आव लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । के अब १४ खर्बभन्दा कम हुन्छ त ? अर्थमन्त्रीसँगै, बजेट निर्माणमा संलग्नको मुख बन्द छ । यो थाहा पाउन अब २९ दिन पर्खिनु पर्ने भएको छ ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया