चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण गरिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रुपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागेको राससलाई जानकारी दिए । “चन्द्रागिरि अस्पतालमा २० र मनमोहन अस्पतालमा ३०० भन्दा बढी कोरोना संक्रमितको उपचार गर्न सकिन्छ”, उनले भने । यस्तै, चन्द्रागिरिले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा समेत कोरोना संक्रमितको उपचार गर्ने जनाएको छ ।
काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् । चन्द्रागिरि नगरपालिकामा नगर अस्पतालबाहेक १६ स्वास्थ्य संस्था रहेका छन् । १५ वडामा १५ स्वास्थ्य संस्था र वडा नं १० मा थप एक स्वास्थ्य संस्था रहेको नगर प्रवक्ता महर्जनले बताए । चन्द्रागिरिले कोरोना सङ्क्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा पुर्याउने लक्ष्य राखेको छ । कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म लैजानका लागि चन्द्रागिरिले नगरस्तरीय एम्बुलेन्सको प्रयोग गर्ने जनाएको छ ।
उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकामा सञ्चालनका लागि एम्बुलेन्स खरीद गरेको थियो । चन्द्रागिरिमा हालसम्म दुई हजार २८३ कोरोना संक्रमित भेटिएका छन् । यसमध्ये दुई हजार ६५ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने १७४ होम आइसोलेशन र १८ जना अस्पताल आइसोलेशनमा रहेका छन् । हालसम्म कोरोना संक्रणका कारण चन्द्रागिरिमा २६ जनाले ज्यान गुमाइसकेका छन् । रासस







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया