बिहीबार, चैत ५, २०८२

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा गोप्य भेटवार्ता

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ मा लिन खोजेको विश्वासको मतका विषयमा केन्द्रीत रहेर छलफल

शित्तल शर्मा २०७८ वैशाख २० गते १८:०७

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका वरिष्ठ नेता माधव नेपालका बीचमा गोप्य भेटवार्ता भएको छ । माधव नेपालको निवास कोटेश्वरनजिकै रहेको व्यवसायी चन्द्रलाल श्रेष्ठको निवासमा प्रचण्ड र नेपालका बीचमा भेटवार्ता भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने गरी प्रतिनिधिसभाको बैठक आह्रवान गर्न राष्ट्रपतिसमक्ष गरेको सिफारिसका आधारमा राष्ट्रपतिले बैठक आह्रवान गरेपछि प्रचण्ड र नेपालका बीचमा पहिलोपटक भेटवार्ता भएको हो । ओलीले हिजो बसेको मन्त्रिपरिषद्को बैठकबाट विश्वासको मत लिन जाने निर्णय लिएका थिए ।

गत फागुन २३ गते एमाले र माओवादी केन्द्र अलग-अलग भएपछि सबैभन्दा अप्ठ्यारोमा माधव नेपाल पक्ष परेको थियो । नेपाल पक्ष एमालेमै रहेपनि ओलीको चेपुवामा पर्दै आएका छन् । ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिना पार्टी सदस्यबाटै निलम्वन गरेका छन् ।

नेपालसहितका संघीय संसद्का ३० सांसदलाई सांसद् पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण समेत सोधिएको अवस्था छ । २७ जनालाई पहिले र पछि थप ३ जनालाई स्पष्टीकरण सोधिएको थियो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनका लागि सिंगो एमाले र जनता समाजवादी पार्टीको १५ सिट लिनुपर्ने हुन्छ । एमालेसँग संसद्को गणितमा १२१ सिट छ । तर राजनीतिक रुपमा त्यो संख्या विश्वासको मत लिने अवस्थामा रहन्छ या रहँदैन भन्ने कुरा नेपाल पक्षको निर्णयले निर्धारण गर्नेछ ।

ओलीले नेपाल पक्षलाई कारवाही गर्ने , नगर्नै भन्नेमा १० वैशाखको पार्टी महाधिवशेन आयोजक समितिको बैठकबाट स्थायी समितिमा अधिकार लिएर राखेका छन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमै विश्वासको मत लिने भएपछि नेपाल र ओली पक्षको लडाईंको छिनोफानो पनि त्यही दिन हुने अवस्था निम्तेको छ ।

ओलीले विश्वासको मत लिन सक्दा ओलीले सरकार आगामी थप एक वर्षसम्म ढुक्कैले चलाउनेछन् । तर विश्वासको मत लिन नसकेमा उनले फेरि प्रतिनिधिसभा विघटन गरेर मंसिरमा अर्ली चुनावको घोषणा गर्ने गरी जान चाहिरहेका छन् ।

यस्तो बेला ओलीको सम्भावित रणनीति र अब नेपाल पक्षले चाल्ने कदमका विषयमा दुई नेताबीच छलफल भएको स्रोतले बताएको छ ।

ओली पक्षले लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई अविश्वास प्रस्ताव फेस नगरी राजीनामा दिन लगाई पुन: एकल बहुमतको सरकारका नाममा गरिएको नियुक्तिका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि प्रचण्ड र नेपाल पक्ष एक भएका थिए । तर पछि अदालतले नेकपाको एकतालाई नै वदर गरेपछि भने छुट्टिएका नेपाल र प्रचण्डवीच पटक पटक यस्तै गोप्य संवाद हुँदै आएको छ ।

प्रतिक्रिया