बिहीबार, फागुन १४, २०८२

साँखु बजारमा सतर्कतापूर्वक बज्रयोगिनीको जात्रा समापन गरिंदै

मेरोन्यूज २०७८ वैशाख २२ गते ९:५५

काठमाडौं । चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो ।

जात्रा वैशाख शुक्ल अष्टमीसम्म साँखु बजार क्षेत्रमा मनाउने गरिन्छ ।

राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगन गरिएको थियो ।

जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको तथा चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजरसमेत वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंहले जानकारी दिए ।

जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहिनी र व्याघ्रिनीका चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ ।

तीन हजार ३०० वर्षमा तीनपटक जात्रा स्थगित
तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा गत वर्षसमेत तीनपटक रोकिएकाले पनि यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको साँखु क्षेत्रको सांस्कृतिक विषयमा अध्ययन अनुसन्धान गरिरहेका प्रकाशमान श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।

शङ्खरापुर नगरपालिका वडा नं ४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ ।

यस वर्ष चलाखु टोलमा खट राख्ने पालो परेको थियो । धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लागेका ‘सक्व’ ले जानकारी दिए ।

गत वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिए पनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिएको थियो ।

यस वर्ष स्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै जात्रा सम्पन्न गरेर छोड्ने समितिको प्रतिबद्धता छ ।

गत बिहीबार मूल जात्रा चलाउने/नचलाउने विषयमा दुई पक्षबीच विवाद भए पनि शुक्रबार बिहान बजार क्षेत्रलाई निर्मलीकरण गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर जात्रा सम्पन्न गर्ने सहमति भएको थियो ।

सतर्कतासाथ जात्रा सम्पन्न गरिँदै
लामो छलफल र सहमतिपछि साँखुको मूलजात्रा सुरक्षा सतर्कताका साथ सम्पन्न गरिंदै छ । जात्राअघि र जात्राको भोलिपल्ट समेत साँखु जेसिजले साँखु बजारभरि नै निर्मलीकरण गरेको छ ।

जात्रा शुरु गर्नुअगावै साँखु बजारका सम्पूर्ण पसल बन्द गराइएको छ । स–साना बालबालिकालाई सडकमा नल्याउन अनुरोध गरिएको थियो । जात्रामा साँखु बाहिरबाट पाहुना आउन रोक लगाइएको छ ।

जात्रा हेर्ने दर्शकलाई समेत मास्क अनिवार्य गरिएको थियो । दश वर्षमुनिका बालबालिकालाई घरघरबाट मात्रै जात्रा हेर्न अनुरोध गरिएको थियो । जात्रामा खट बोक्ने युवाको समूहसमेत भौतिक दूरी कायम गरेर सहभागी गराइएको थियो ।

जात्रा सञ्चालनअघि नै सबै देवीदेवताका खट स्यानिटाइज गरिएको थियो । जात्राको खट बोक्ने सबै युवालाई पनि मास्क अनिवार्य गरिएको थियो । जात्रा सकिएपछि पुनःस्यानिटाइज गरेपछि मात्रै मानिसलाई घरघरमा जान दिइने गरिएको छ ।

मङ्गलबार बेलुकी ‘थहाँ बिज्या’ बज्रयोगिनी मातासहित चैत्य भराड र सिंहिणी ब्याघ्रिनीकोसमेत रथारोहण गरिएको छ ।

आज बिहान करिब ७ बजेपछि पुनः जात्रा शुरु भएको छ । आठ बजे पञ्चबुद्धको मुकुट लगाएका बज्राचार्य पुजारी रथबाट उत्रिएर साँखु बजार बाहिर कोलागाल पुग्ने परम्परा छ ।

कोलागालमा सबै देवीदेवतालाई अगाडि पछाडि गर्दै खेलाउने गरिन्छ । त्यसपछि कोलागालको कुलोभन्दा पर पुर्‍याएर साँखु बजारको समूहले जात्राका देवीदेवताका सबै रथ त्यहीँ छोडिदिन्छन् । यो विधि पूरा भएपछि साँखु बजारका स्थानीयवासीले गर्ने जात्रा सकिन्छ ।

बुधबारपछि साँखु बजारमाथि जात्रा
यसपछि घुमारचोक, लप्से र डाँडाकटेरीका तामाङ समुदायका स्थानीयवासीले जात्रा चलाउँछन् ।

बजारभन्दा माथिल्लो भेगका स्थानीयवासीले श्री बज्रयोगिनी माता फर्काउने जात्रालाई आफ्नो घरमा फर्काउने भन्दै देवीदेवताको जात्रा उल्लासमय रूपले गर्दछन् । जात्रापछि वैशाख कृष्ण नवमीका दिन भोजसमेत गर्ने परम्परा छ ।

जात्राका देवीदेवता बज्रयोगिनी मन्दिर परिसर पुर्‍याएपछि ‘थहाँ बिज्या’ को कार्यक्रम सकिन्छ । तीन दिनपछि राजारानीका तर्फबाट मन्दिरमा पूजासहित भोज खाने गरिन्छ । चार दिनपछि पुनः राजाको खड्ग लिएर साँखु बजार परिक्रमा गरिन्छ । राजाको खड्ग बिदाइसँगै साँखु जात्रा समापन गरिने विधि रहेको छ । (रासस)

प्रतिक्रिया