मंगलबार, फागुन २६, २०८२

सन्दर्भः अन्तर्राष्ट्रिय हाँसो दिवस

आफु पनि हाँसौं अरुलाई पनि हसाऔं

मेरोन्यूज २०७८ वैशाख २३ गते ९:१३

काठमाडौं । आज वैशाख २३ अर्थात मे ६ । विश्व हाँसो दिवस । कोभिड–१९ का कारण लकडाउन भएको बेला आफ्नै घरमा तनावमुक्त भएर हाँसौं, खुसीले बाँचौंको विकल्प छैन । लकडाउनका बेला घरमा तनावपूर्ण बसेका सर्वसाधारणले विश्व हाँसो दिवसको नाममा हाँसेर जीवनलाई अघि बढाउनुपर्छ ।

Advertisement
nepal life insurencenepal life insurence

मुम्बइका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु भएको इतिहास छ । डा. कटारियाले हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’मार्फत यसलाई हाँसो दिवसका रुपमा मनाउन सुरु गरेका हुन् ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो । हाँसोले शारीरिक, श्रवण र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पु¥याउने चिकित्सकले बताएका छन् ।

नाक, कान, घाटी रोग विज्ञ एवं त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले हाँस्नु श्रवणका लागि पनि उत्तम भएकाले सबैले मनैदेखि हाँस्न सक्नुपर्ने बताए । मेरोन्यूजसँग उनले भने, ‘बिरामीको परीक्षण गर्दा, शिक्षकले विद्यार्थी पढाउँदा वा एकले अर्कासँग कुरा गर्दा हाँसोका साथ प्रस्तुत भए सकारात्मक सोचका साथ कार्य सफल हुन्छ ।’

तनदेखि शारीरिक, मानसिक सबैमा सहज हाँसोको बेला हुने जानकारी दिँदै मनोविद डा. सरोजप्रसाद ओझा भन्छन्, ‘दक्षिणपूर्वी एसियामा हेर्ने हो भने बच्चा, युवा, प्रौढ वा वृद्ध हरेक उमेर समूहका मानिसमा सुनाइसम्बन्धी समस्या अन्य देशमा भन्दा बढी भएकाले हाँसोले सकारात्मक प्रभाव पार्छ ।’

मनमा शान्ति ल्याउन पनि हाँसो र खुसीमा ध्यान दिँदै दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले क्यालोरीसम्म घटाउन, तौल घटाउनेसमेत योगदान गरेको सम्बन्धित अध्येताको प्रविदेनमा रहेको उनले दाबी गरे ।

चिकित्सकसँगै कलाकार पनि हाँसोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । त्यसैले सबै सञ्चार माध्यममा विशेषतः टेलिभिजन र रेडियोमा हाँस्य टेलिश्रृखला प्रसारण हुने गर्छन् ।
हरेक वर्ष गाईजात्राको दिन व्यंग्यात्मक कार्यक्रम हुने भएकाले सबैमा हाँसोको प्रभाव पर्छ नै । तर कलाकारहरु गाईजात्रामा मात्र नभएर अघिपछि पनि हाँस्न र हँसाउन गाह्रो भएको दुखेसो गर्छन् ।

हास्य कलाकार हरिवंश आचार्यले भने, ‘रुवाउन सजिलो छ । हसाउन अलि गाह्रो । गतवर्ष लकडाउनमा फेसबुकमार्फत घरमा सुट लगाउन सिकाएको हसाउनलाई हो । यसपाली पनि यो नै गर्छु भन्ने तयारी छैन । सबै समस्यामा परेका बेला हसाउने जुक्ति खोजीरा’छु ।’

दुःखका कुरा सुनायो भने त सबैले आँसु झारिहाल्ने प्रवृत्ति अधिकांशमा रहेकामा जोड दिँदै कलाकार आचार्यले कोभिड–१९ को समस्याले धेरैको ज्यान जाँदा सबै जना रुनुको विकल्प नभएपनि अप्ठ्यारो बेला रमाइलो गर्दै हाँस्न सिक्नुपर्ने उल्लेख गरे ।

मानिस भावनाका आधारमा रुन सक्ने भए पनि हाँस्नुबाट फाइदातिर लाग्न खोजे समस्या समाधान हुनेमा अर्का कलाकार मनोज गजुरेलको भनाइ छ । उनले भने, ‘पछिल्लो समय सञ्चारमाध्यमा आउने हँसाउने प्रतिस्पर्धा कार्यक्रमले पनि सर्वसाधारण हाँस्न सिकेकोमा खुसी लाग्छ । अरुलाई उठाउन हाँस्नुभन्दा मनोरञ्जन प्राप्त गर्न लागे सहि हुन्छ ।’

अर्का हास्य कलाकार दीपकराज गिरीले कहिले खुसीमा आँखु खस्नुका साथै कहिले दुःखमा पनि खस्ने भएकाले दुःखमा हाँस्न नसकिने धारणा राखे । उनले समस्या विश्वभर चलेको बेला घरमा हाँस्न सिक्दा मानसिक समस्याबाट स्वतः टाढा हुने भएकाले रमाइरमाइ हाँस्न सिक्नुपर्ने बताए ।

मस्तिष्कमा हुने व्यवहारमा पनि हाँसोले फाइदा ल्याउनेमा सबैले जोड दिन्छन् । भावनालाई परिचालन गर्न दिमागको मध्य भागमा रहेको प्रणालीले भावनासँगै यौन उत्तेजनालगायत कुराको निर्देशन गर्ने यौन विशेषज्ञ डा. राजेन्द्र भद्रा बताउँछन् । उनले ‘खीतखीत’ गर्दै खीत्का छाडेर, वा मनमनै, कोही मुसक्क तथा फुसुक्क हाँसोमा परिवार सुन्दर हुने भएकाले हाँसो दिवसमा मात्र नभएर प्रत्येक दिन हाँस्न आग्रह गरे ।

विश्वको सबैभन्दा महँगो र दार्शनिक सन्तुष्टिमा पनि हाँसो महत्वपूर्ण हुनेमा दुविधा छैन । हाँसोलाई किन्नका लागि व्यक्ति, सामान, आवश्यकतामा सन्तुष्ट हुनु नै ठूलो कूरा हो । तसर्थ एउटा सानो फिरफिरे पाउँदा मात्र पनि एउटा बालक हाँस्छ, भने सन्तानसँगको मिलापमा संसारमा सबै आमा हाँस्छन् । अब संसारकी आमासँगै सबै व्यक्ति सकारात्मक सोचसँगै सकारात्मक दायित्व लिएर उत्तरदायित्व सिद्धान्तलाई अंगिकार गरे हाँसोको विकल्प हुँदैन ।

त्यसैले हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाँउछ भन्दै महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘गरिब भन्छौं सुखको मै छु धनी मिल्दैन कतै पनि’ यत्तिकै चर्चामा आएको होइन । जय हाँसो ।

प्रतिक्रिया