बिहीबार, चैत ५, २०८२

देउवा निवासमा एमाले नेताहरुको दौडधुप

प्रधानमन्त्री पुगेको भोलिपल्टै माधव नेपाल पनि देउवा निवासमा

मेरोन्यूज २०७८ वैशाख २३ गते १८:३४

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा (एमाले)का शीर्ष नेतासहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा पुगेर विश्वासको मत मागेको भोलिपल्टै वरिष्ठ नेता माधव नेपाल पनि छुट्टै देउवा निवास पुगेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

ओली हिजो संसदीय दलका उनपेता सुवास नेम्वाङ, उपप्रधनमन्त्री तथा महासचिव इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेललगायतका नेता साथ लिएर देउवा काहाँ पुगेर २७ वैशाखमा आफूले सदनमा लिन लागेको विश्वासको मतलाई साथ दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री माथि विश्वासको मत दिन नसक्ने जवाफ दिएर फर्काएका देउवालाई भेट्न अहिले भने माधव नेपाल बूढानीलकण्ठ पुगेका छन् ।

एमालेमै ओलीसँग अन्तरसंर्घष गरिरहेका र ओलीसँग असन्तुष्ट रहेका नेता नेपाल समूह पनि कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव , डा बाबुराम भट्टराई गठबन्धनमा सहभागी हुन खोजेको आरोप लागिरहँदा उनी एक्लै देउवा निवासमा पुगनुलाई निक्कै अर्थपूर्ण मानिएको छ ।

नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत देला, नदेला अनिश्चयमा रहिरहेका बेला नेपालको देउवासँगको एक्लो भेट निक्कै अर्थपूर्ण छ ।

नेपाल खेमामा ओलीले विश्वासको मत लिने निर्णयपछि चार थरीको प्रस्ताव आएको थियो । ओलीलाई विश्वासको मत दिने, सामूहिक राजीनामा दिने, फलोर क्रस गर्ने र बैठकमै अनुपस्थित भइदिने चार विकल्पमा छलफल चलेपनि अन्तिममा फलोर क्रस गर्ने र अनुपस्थित हुने कुराले सन्देश नराम्रो जाने भएकोले ति विकल्प बाहेकमा छलफल गर्नुपर्ने निष्कर्ष निस्केको थियो ।

तर सामूहिक राजीनामा या विश्वासको मत दिने भन्ने विषयमा नेपाल पक्ष औपचारिक निर्णयमा पुगिसकेको छैन । यद्यपि, नेता विशेषले आफ्नो व्यक्तिगत धारणाका आधारमा विश्वासको मत दिने या सामूहिक राजीनामा दिने गरी धारणा सार्वजनिक भने गरिरहेका छन् ।

नेपाल पक्षले राष्ट्रिय सभाको उपचुनावमा भने कांग्रेस, माओवादी र उपेन्द्र बाबुरामको जसपासँगकै गठबन्धनमा सहभागी हुने गरी निर्णय लिएको थियो । त्यही निर्णयका आधारमा वाग्मती प्रदेशको उपचुनावमा आफ्नो टिमका डा खिमलाल देवकोटालाई माओवादीको चुनाव चिह्नमा उम्मेदवार बनाएर नेपाल पक्षले ओलीविरुद्ध चुनावी मोर्चा समेत खोलिसकेको स्थिति छ ।

ओलीले सदनमा विश्वासको मत लिने दिन अगावै अविश्वास प्रस्ताव ल्याउने की भन्नेमा अनौपचारिक संवादमा कांग्रेस र माओवादी केन्द्र रहिरहेका बेला देउवा निवासमा माधव नेपाल एक्लै देउवा भेटन पुग्नुले उनको स्टेप कसरी अगाडि बढ्ला भन्ने थप संशय भने निम्ताइदिएको छ ।

प्रतिक्रिया