शुक्रबार, फागुन १, २०८२

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज

बहुमत जुटाउन जनमोर्चाका सांसद कृष्ण थापालाई फकाउने विपक्षी प्रयास अझै जारी छ । तर उनले कांग्रेस-माओवादी गठवन्धनलाई साथ दिने सम्भावना कमजोर छ ।

मेरोन्यूज २०७८ वैशाख २९ गते ९:१५

पोखरा । गण्डकी प्रदेशमा प्रदेश प्रमुख सीता पौडेलले सरकार गठनका लागिदिएको तीन दिनको समयावधि आज सकिदैछ । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखले तीन दिन अगाडी आज सम्मको समयावधि दिएर दलहरुलाई सरकार गठनको आह्रवान गरेकी थिइन् ।

Advertisement
nepal life insurencenepal life insurence

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ले बैशाख २६ मा पदवाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८(२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुलाई मिलेर बहुमतको सरकारका लागि दलहरुलाई आह्रवान गरेकी थिइन् ।

दिउँसो ४ बजेसम्म दलहरुले बहुमतको दावी सहित सरकार गठनको प्रयास गर्न सक्नेछन् । तर अहिलेसम्म कुनै पनि दलले बहुमत जुटाउन सकिरहेका छैनन् । कांग्रेस, माओवादी र जसपाले काग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुमपा अगाडी सादै प्रयास गरिरहेका छन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन्। सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । स्वतन्त्रका एक सांसद दिपक मनाङ्गे एमालेतिर नै छन् ।

राष्ट्रिय जनमोर्चा सरकार गठनका लागि निर्णायक छ । जनमोर्चाका तीन सांसदमध्ये तीनै जनाले विपक्षी गठवन्धनलाई साथ दिएमा विपक्षीका तर्फबाट कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्न सक्नेछन् । तर जनमोर्चाका प्रदेश सभा दलका नेता कृष्ण थापाले केन्द्रको निर्देशन मानिरहेका छैनन । उनले विपक्षी गठवन्धनलाई साथ नदिएसम्म विपक्षीको सरकार बन्ने सम्भावना छैन ।

उनले कांग्रेसलाई साथ नदिने बताईसकेका छन् । पार्टीको कारवाही भोग्ने तर कांग्रेसलाई साथ नदिने उनको अडानका कारण गण्डकीमा बहुमतको सरकार बन्ने सम्भावना क्षीण छ ।

दलहरुले दिउँसो ४ बजेसम्म वहुमतको सरकारको दावी गर्न नसके संविधानको धारा १६८(३) अनुसारको प्रक्रियामा जानेछ । त्यसो हुँदा अहिलेकै कामचलाउ सरकारका मुख्यमन्त्री गुरुङलाई नै सरकार बनाउने बाटो खुल्नेछ ।

प्रतिक्रिया