वैकल्पिक सरकार गठन
सत्ता समीकरणबारे बुधबार दिनभर कुनै छलफल गरेनन् देउवाले
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू र पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले मंगलबार सत्ता समीकरणबारे छलफल गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको थियो । तर, देउवाले बुधबार कुनै पनि दलका नेता र पार्टी नेताहरूसँग छलफल नै नगरेर बिताएका छन् ।
देउवाको सचिवालयले आज सभापति देउवाले कुनै पनि दलीय छलफल र टेलिफोन नगरेको जानकारी दिएको छ । यतिसम्म कि सभापति देउवाले आफ्नै पार्टीका नेताहरूसँग पनि छलफल गरेनन् । नेता रामचन्द्र पौडेलले आवश्यक परे आफूहरूलाई खबर गर्न भनेकाे र सभापतिको टेलिफोन आउँछ कि भनेर दिनभर कुरेको तर, नआएको जानकारी दिए ।
‘हिजो पदाधिकारी बैठकबाट तपाईं कुराकानी गर्नुस् । आवश्यक पर्याे भने हामी तयार छौं, खबर गर्नुहोला भनेका थियौँ । घरमै खबर कुरेर बसे । खबर आएन,’ पौडेलले साँझ भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २७ बैशाखमा प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसै दिन राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । उनले दिएको समय बिहीबार साँझ ९ बजेसम्म छ ।
तर, समय सकिँदाको अघिल्लो दिन प्रधानमन्त्री बन्ने भनिएका देउवाले कुनै दलीय र पार्टीको आन्तरिक छलफल नै नगरी बिताए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले नयाँ सरकार गठनको प्रयास गरिरहेका छन् ।
कांग्रेस नेता रमेश लेखकले आज दलीय छलफल र पार्टीको आन्तरिक कुराकानी केही पनि नभएको बताए । ‘आज दिनभर सत्ता समीकरणबारे केही कुराकानी भएन । म घरमै बसे,’ उनले भने ।
प्रतिक्रिया