मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

गलेश्वर । कोरोना संक्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् ।
निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान ब्याडमा राखेको बिउ काढ्न व्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवा, हलो र गोरुको विकल्पमा ट्र्याक्टरले जोतेर हिल्याइरहेको छ ।
जेठको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाइँ गरिरहेका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयवासीले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिए । हरेक वर्ष यस क्षेत्रमा सबैभन्दा अगाडि असारे धान रोपाइँ हुने गर्छ । जिल्लाभर यो वर्ष गत वर्षभन्दा अगाडि नै धान रोपाइँ हुने अनुमान गरिएको छ ।
कुल २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको म्याग्दीमा तीन हजार ८९५ हेक्टरमा धान, ११ हजार ११५ हेक्टरमा मकै, तीन हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी र ६३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।
कोरोनासँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र स्यानिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।रासस
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया