शनिबार, वैशाख २६, २०८३

प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर

मेरोन्यूज २०८३ वैशाख २६ गते २०:३९

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको दाबी गरेकी छन् । शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले यसमा कुनै किन्तु–परन्तुको आवश्यकता नभएको प्रतिक्रिया दिएकी छन् ।

Advertisement
NiccNicc

‘न्याय प्रणालीबारे धेरै समयदेखि जनता गुनासो गर्दै आइरहेका छन्–हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो भनेर,’ उपसभामुख ठाकुरले भनेकी छन्, ‘एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय हो ।’

‘प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ। यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन,’ उनले लेखेकी छन् ।

उपसभामुख ठाकुरले नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको प्रभावमा हुँदा त्यसको परिणाम पनि त्यहीअनुसार देखिने टिप्पणी गरेकी छिन् ।

उनले राज्यका सबै अंग देश, जनता र राज्यको हितका लागि काम गर्नुपर्ने उल्लेख गर्दै संविधान, कानुन र जनहित सर्वोपरि हुनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत् उनले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार भएको उल्लेख गर्दै साथ, सहयोग र समर्थनका लागि सबैप्रति धन्यवादसमेत व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया