आइतबार, चैत ८, २०८२

प्रधानमन्त्रीको कदमविरुद्ध मोरङका दलको मोर्चाबन्दी

मेरोन्यूज २०७८ जेठ ११ गते १२:१८

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते गरेको संसद विघटनको विरुद्धमा मोरङका राजनीति दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव कुमार नेपाल र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्धमा मोर्चाबन्दी सुरु गरेको हो । चारै दलहरुको तर्फबाट आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले गत जेष्ठ ७ गते मध्यरातमा चालिएको कदम अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती भएको दाबी गर्दै घोर निन्दा एवं भत्र्सना समेत गरेको छ ।

‘प्रधानमन्त्री खड्ग प्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा पुनः यही जेष्ठ ७ गते मध्यरातमा चालिएको अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती कदमको हामी मोरङ जिल्लास्थित राजनीति पार्टीहरू घोर निन्दा एवं भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुक कोभिडको महामारीले आक्रान्त भएको यस विषम परिस्थितिलाई पूर्ण रूपमा बेवास्ता गरी चालिएको यस्तो गलत कदमका विरुद्धमा न्यायिक एवं राजनीति रूपमा प्रतिवाद गर्न सम्पूर्ण न्यायप्रेमी, जनता तथा सम्पूर्ण लोकतन्त्रवादी शक्तिलाई हामी अपिल गर्दछौं ।’

विज्ञप्तिमा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, माओवादी केन्द्रका जिल्ला सचिव गणेश उप्रेती सुशील, नेकपा एमाले नेपाल पक्षका सचिव राजन केसी र जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा संवैधानिक व्यवस्था अनुसार बहुमत संसद सदस्यहरूको माग दाबीलाई न्यायिक मान्यता दिई संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनगरी मुलुकको वर्तमान राजनीतिक संकटको निकास यथाशिघ्र निकाल्न माग गरिएको छ ।

प्रतिक्रिया