आइतबार, चैत १०, २०८१

प्रादेशिक अस्पताल सुधार गर्न मुख्यमन्त्री राउतको चासो, तीन सदस्यीय उच्चस्तरीय समिति गठन

मेरोन्यूज २०७८ जेठ १६ गते ९:३६

धनुषा । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ ।

अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकलाई बैठकमा बोलाएका थिए ।

मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिलेसम्म र कसरी सुध्रिने भन्ने प्रश्नको जवाफ मागेपछि मेडिकल सुपरिटेन्डेन्ट लगायतका चिकित्सकले अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे आ–आफनो धारणा राखेका थिए ।

चिकित्सकले दिएको सुझाव सङ्कलन गर्दै अस्पतालको समग्र सुधारका भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकको सल्लाहमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ ।

चार दिन समयसीमा पाएको समितिले अस्पतालमा बिरामीको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गएपछि गरिनुपर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधालाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ ।

बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, सचिव यमप्रसाद भुषाल, समाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सञ्जय सिंहसहित समितिका पदाधिकारी, आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोदकुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक झा, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवसहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया