सोमबार, वैशाख ७, २०८३

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

मेरोन्यूज २०७८ जेठ १८ गते ८:५०

सुर्खेत । पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ जना सङ्क्रमित निको भएका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना जितेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

“पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा खड्काले भने, “कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।”

मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक/एक जना रहेको उनले बताए ।

उनका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ जना भेन्टिलेटरमा, ५३ जना आइसीयूमा, ३७० जना आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा छन् ।

सोमबारसम्म २४७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिक्रिया