एमाले मिलाउन मध्यरातसम्म पाँच तारे होटलमा गम्भिर वार्ता
स्पष्टीकरण सोधिएका १२ नेतामाथीको कारवाही थाती राखेर सहमति खोज्ने समझदारी

काठमाडौं । खण्डित हुन लागेको सत्तारुढ दल एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरुको कोसिस जारी छ ।
अध्यक्ष केपी ओलीले पार्टी स्थायी समिति बैठक राखेर करिव २७ वर्ष पार्टी नेतृत्व हाँकेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेपछि एमाले विभाजनको नजिक पुगेको थियो ।
तर अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको व्यक्तिगत इगोकै कारण पार्टी विभाजनको डिलमा पुगेको र त्यसलाई जोगाउन दोस्रो तहका नेताहरुले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने दवावकाबीच दोस्रो तहका नेताहरुको दरबारमार्गस्थित पाँच तारे होटल याक एण्ड यतिमा सोमबार मध्यरातसम्म वार्ता भएको छ ।
वार्तामा ओली पक्षबाट अर्थमन्त्री समेत रहेका विष्णु पौडेल, सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल पक्षका घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए । नेताहरुले झण्डै ५ घण्टा भन्दा लामो समयसम्म छलफल गरेका थिए ।
बैठकमा एमालेले स्पष्टीकरण सोधिएका सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतका नेताहरुको कारवाही थाती राख्ने, नेपाल र खनाललाई निश्कासन गरिएको विषयमा पुनर्विचार गर्ने र पार्टीभित्र देखा परेका विवाद समाधानको मोडालिटी के लाई बनाउने भन्नेमा नेताहरुका बीचमा गम्भिर छलफल भएको वार्तामा सहभागी एक नेताले मेरोन्यूजलाई जानकारी दिए ।
‘हामी दोस्रो तहका नेताहरुले पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्न सकेनौं, शीर्ष नेताले जे भन्यो त्यहीमात्र गर्न थाल्यौं, पार्टी विभाजन रोक्न पनि लागेनौं भन्ने आरोप लागिरहेका बेला हामी गम्भिर छलफलमा बसेका हौं,’ छलफलमा सहभागी मध्येका एक नेताले मेरोन्यूजसँगको टेलिफोन सम्वादमा भने,–‘पार्टी एकता जोगाउनैपर्छ, विभाजनले कसैलाई पनि फाइदा छैन , कसरी जोगाउने भन्नेमै केन्द्रीत रहेर छलफल भएको हो । छलफल पहिलेको भन्दा सकारात्मक भएको छ ।’
नेताहरुका बीचमा पार्टी नेतृत्वका विरुद्ध नेपाल पक्षले विपक्षी गठवन्धनसँग मिलेर गरिरहेको पार्टी हित विपरितका गतिविधि रोक्ने, नेपाल र खनालमाथीको कारवाही पुनर्विचार गरेर फिर्ता लिने र स्पष्टीकरण सोधिएका १२ नेताका विषयमा कुनै कारवाही प्रक्रिया नै अहिले अगाडी नबढाउने विषयमा छलफल भएको ति नेताले बताए ।
दोस्रो तहका नेताहरुका बीचमा यी विषयमा समझदारी बनेपनि प्रधानमन्त्री ओली र नेपालसँग समझदारीका विषयमा केन्द्रीत रहेर दुवै पक्षका नेताहरुले आ आफना शीर्ष तहमा छलफल गरेर एउटा समझदारी खोज्ने सहमति जुटेको ति नेताले बताए ।
प्रधानमन्त्री ओली कारवाही रोकेर पार्टी एकताको अन्तिम पटक आह्रवान गर्न तयार रहेको सन्देश ओली पक्षका नेताहरुले छलफलका क्रममा दिएपछि नेपाल पक्षका नेताहरुले पनि नेता नेपाल र खनालसँग थप छलफल गरेर पार्टी मिलाउने गरी नै जानुपर्ने धारणा राखेका थिए ।
एमालेको आज पनि स्थायी समिति बैठक बस्दैछ । बैठकले १२ नेतालाई सोधेर राखेको स्पष्टीकरणका विषयमा अहिले केही पनि प्रक्रिया अगाडी नबढाउने समझदारी बनेको छ ।
आजको स्थायी समितिले नै नेताहरुमाथी कारवाही गर्न सक्ने अवस्थामा याक एण्ड यतिको छलफलले अब त्यो प्रक्रिया अहिले थाती राखिने सम्भावना बढेर गएको छ ।
‘सम्भवत यो प्रक्रिया अब रोकिन्छ होला, हाम्रो छलफलको स्पिरिट त्यस्तै छ,’ ति नेताले भने, –‘आजको छलफलमा अब लुम्बिनी प्रदेशको राष्ट्रिय सभा चुनाव र बजेटका विषयमा समिक्षा बैठक हुने सम्भावना छ ।’
तर छलफलमा सहभागी नेता सुवास नेम्वाङले अझै निश्कर्षमा भने पुग्न नसकिएको बताए ।
उनले मेरोन्यूजसँग भने, ‘हामीले पार्टीभित्रको विवाद मिलाउन सहमतिको लागि धेरै विकल्पमा छलफल गरेर प्रयास गरेका छौं । छलफल त सकारात्मक नै भएको छ । तर निष्कर्षमा पुग्न सकिएको छैन । निश्कर्ष हामीले निकाल्नै पर्छ । एमालेभित्रको विवाद मिलाएर अगाडी जानुको विकल्प छैन ।’
प्रतिक्रिया