सरकारमा जाँदै जसपा
जसपाको ठाकुर समूहलाई मन्त्रीको नाम टुंग्याउन कठिन
उपप्रधानमन्त्रीसहित जसपाको तर्फबाट सरकारको नेतृत्व महतोले गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहमा आकांक्षी धेरै र पाउने मन्त्रालय थोरै भएपछि मन्त्री बन्नेहरूको नाम टुंग्याउन समस्या भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू र ठाकुर समूह करिब ४ घण्टा बैठक चलेको हो । बैठकले जसपालाई उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री दिएर सरकारमा लैजाने निधो भएको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले मंगलबार नै जसपाबाट मन्त्री बनेकाहरूलाई शपथ गराउन नाम दिन आग्रह गरेका थिए । तर, पार्टीको समस्या मिलाउन पर्ने भन्दै जसपाका अध्यक्ष ठाकुरले बुधबारसम्मको समय मागेका थिए ।
मन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा कसरत सुरु गरेका ठाकुरलाई आकांक्षी धेरै र मन्त्रालय थोरै भएपछि मिलाउन कठिन भएको छ । सोमबार दिउँसोदेखि आज बिहान १० बजेसम्म सरकारमा पार्टीको नेतृत्व गरेर जाने ४ मन्त्रीको मात्रै नाम टुंगिएको छ । सरकारमा जाने मन्त्रीहरूको नाम टुंग्याउन ५ दिन लाग्ने नेताहरूले बताए ।
ओलीसँगको वार्ता र मन्त्री बनाउने कसरतमा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार अहिलेसम्म जसपा बन्नुअघि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका चार जना सरकारमा मन्त्री बन्ने भएका छन् ।
‘तत्कालीन राजपाको अध्यक्ष मण्डलका चार मन्त्रीका रुपमा सहभागी हुने र पार्टीबाट सरकारमा नेतृत्व राजेन्द्र महतोले गर्ने मात्रै टुंगिएको छ,’ कर्णले भने । उनका अनुसार महतोसहित शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव मन्त्री बन्ने टुंगिएको हो । महतोले उपप्रधानमन्त्रीसहित आफ्नो पार्टीबाट सरकारको नेतृत्व गर्ने छन् । स्रोतका अनुसार महतोले ओलीसँग आफूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिन व्यक्तिगत रुपमा आग्रह गरेका छन् ।
यता कार्यकारिणी समितिमा बहुमत रहेको अध्यक्ष यादव समूहले सरकारमा गए कारबाही गर्ने भएकाले ठाकुर समूह कठिन अवस्थामा रहेका छन् ।
त्यस्तै, ठाकुर समूहमा अर्का अध्यक्ष उपेन्द्र यादव समूह छाडेर आएका ५ मध्ये तीन जनालाई मन्त्री बनाउनु पर्ने माग छ । तर, आफ्नो समूहका पनि धेरै आकांक्षी भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ । स्रोतका अनुसार ठाकुर र नेता महतोबीच उपेन्द्रलाई छाडेर आएका ५ जना सांसदमध्ये उमाशंकर अरगरिया, विमल श्रीवास्तव र एकवाल मियालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ । तर, नटुंगिएको नेताहरू बताउँछन् ।
बाँकी रहेका एउटा मन्त्रालयमा ठाकुरले चन्दा चौधरीलाई मन्त्री बनाउन चाहिरहेका छन् भने महतोले अमृता अग्रहरी वा लक्ष्मणलाल कर्णलाई मन्त्री बनाउन चाहिरहेका छन् । उपेन्द्र समूहबाट आएका ५ मध्ये दुईलाई मन्त्री र एकलाई राज्यमन्त्री दिएर भए पनि ठाकुरका एक र महतोका एक विश्वास पात्रलाई राख्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । तर, त्यसो गर्दा अन्य नेताहरू चिढिएर उपेन्द्रको क्याम्पमा पुग्ने हुन कि भन्ने डरमा पनि नेताहरू छन् ।
दुई राज्यमन्त्रीमा रेणुका गुरुङ, चन्द्रकान्त चौधरीलगायतको नाममा छलफल भए पनि मन्त्रीको आकांक्षा देखाएकालाई राज्यमन्त्री दिने विषयमा छलफल चलिरहेको अध्यक्ष मण्डलका एक सदस्यले बताए । समानुपातिक, समावेशी सबै मिलाएर पनि नाम चयन गर्न समस्या भएको उनले बताए ।
जसपाका ३२ सांसदमध्ये २० जना सांसदले ठाकुरलाई साथ दिएका छन् । त्यसमा १० जना मात्र मन्त्री बन्ने भएकाले बाँकी १० जना असन्तुष्ट हुने र क्याम्प परिवर्तन गर्ने हुन कि भन्ने चिन्ता ठाकुर र महतोलाई छ । त्यसैले आफ्ना विश्वास पात्रलाई नदिएर भए पनि क्याम्प परिवर्तन गर्न सक्नेलाई मन्त्री वा राज्यमन्त्री दिएर मनाउन विषयमा छलफल केन्द्रीत रहेको ती नेताले बताए ।
तर, टुंगोमा पुग्न ५ दिन लाग्ने उनको भनाइ थियो । ४ नेताको विषयमा पनि सैद्धान्तिक सहमति भएको र बैठकबाट निर्णय लिन बाँकी छ ।
यता कार्यकारिणी समितिमा बहुमत रहेको अध्यक्ष यादव समूहले सरकारमा गए कारबाही गर्ने भएकाले ठाकुर समूह कठिन अवस्थामा रहेका छन् । त्यो कारबाहीबाट बच्न पार्टी फुटाउन ठाकुरले ओलीसँग सहयोग मागेका छन् । जसपामा ठाकुर समूहले सरकारलाई समर्थन गरेको छ भने यादव समूहले सरकारविरुद्ध सर्वोच्चमा हस्ताक्षर बुझाएको छ ।
गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, युवा तथा खेलकुद मन्त्री दावा लामा र खानेपानीमन्त्री मणि थापाको मन्त्रीमा भएको नियुक्ति सर्वोच्च अदालतदे बदर गरिदिएपछि ती मन्त्रालय खाली छन् । त्यसमा गृह दिन नसक्ने ओलीले ठाकुर र महतोलाई बताइसकेका छन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया