कोरोना संक्रमणबाट अर्थविद डा. थापाको निधन

काठमाडौं । अर्थविद डा. गोविन्दबहादुर थापाको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको हृदयरोग केन्द्रले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए ।
थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए ।
अब्बल वामपन्थी अर्थशास्त्री थापा पछिल्लो समय भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आवद्ध थिए । कास्कीका स्थायी बासिन्दा उनी हाल भने काठमाडौंको बसुन्धरामा बस्दै आएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया