शुक्रबार, फागुन १५, २०८२

घरमै थन्किए ओलाङ्चुङगोलाका गलैंचा

मेरोन्यूज २०७८ जेठ २१ गते ६:४०

ताप्लेजुङ । यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैंचा घरमै थन्किएकाछन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुनेका ३६ थान गलैंचा घरमै राखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैंचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यवसायिक रूपमा बुनेका गलैंचा बिक्री नहुँदा घरमै राखिएका छन् ।

कोभिड–१९ को सङ्क्रमणका कारण चीनतर्फको नाका पूर्णरूपले बन्द भई निर्यात नहुँदा करिब २ हजार २५० हाराहारीमा गलैंचा थन्किएको त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले बताए ।

उनका अनुसार ओलाङ्चुङगोलामा उत्पादीत गलैंचाको मूख्य बजार चीनको तिब्बत हो । एक वर्ष अघिदेखि टिपताला नाकाबाट आवतजावतमा पूर्णरूपले रोक लगाईएपछि गलैंचाको व्यपार ठप्प छ ।

सङ्क्रमण फैलने भन्दै गत वर्षको चैतमा तिब्बतले नाका बन्द गराएको गोलाबासीलाई जानकारी गराएको थियो । त्यस यता नाका खुलेको छैन ।

नेपाली बजारको तुलनामा तिब्बतका बजारमा एउटा गलैंचाको मूल्य करिब १० हजार रुपैयाँ बढी पाउने भएकाले व्यवसायीले तिब्बततर्फ नै निर्यात गर्दै आएका थिए । यहाँ बनेका गलैंचा गुणस्तरीय हुने भएकाले तिब्बतका बजारको रोजाईमा पर्ने गरेको स्थानीय व्यवसायीले बताए ।

यस्तै नेपाली बजारमा ग्राहकले सस्तो खोज्ने हुँदा लगानी र मेहनतअनुसार मूल्य नपाउने यहाँका व्यवसायीको भनाइ छ ।

“नाका बन्द हुँदा गलैंचाको व्यापार ठप्प छ, नेपालमै बेचौं त भने जस्तो मूल्य पाईंदैन, एक वर्षदेखि बनेका गलैंचा घरैमा थन्किए, अरु आम्दानीको श्रोत पनि छैन, समस्या हुँदै गयो” ,स्थानीय भुजुङ शेर्पाले भने ।

व्यवसायीका अनुसार नेपालमा १० देखि १५ हजारका दरले बिक्री हुने गलैंचा तिब्बतमा २० देखि २५ हजार रुपैयाँमा बिक्री हुन्छ । गुणस्तरको आधारमा ३०–३५ हजार रुपैयाँसम्म पर्ने उनीहरूले बताए ।

एउटा गलैंचा बन्न कम्तिमा १ हप्तासम्म लाग्छ । गलैंचा बन्न प्रयोग गरिने धागो, रङ्गलगायत सामान तयार गर्न छुट्टै समय लाग्छ । आवश्यक पर्ने कच्चा पदार्थ चीनबाटै ल्याउने गरिए पनि नाका बन्द भए यता नेपालकै बजारबाट ल्याउन थालिएको छ ।

एक वर्षदेखि गलैंचा बिक्री नभए पनि यहाँका बासिन्दाले गलैंचा बन्न छाडेका छैनन् । नाका खुल्ला अनि बेचौंला भन्दै बन्दाबन्दीको समयलाई गलैंचा बनेर सदुपयोग गरिरहेका छन् ।

यतिबेला निषेधाज्ञाले कतै जान आउन नपाउने भएपछि घरैमा रहेका स्थानीयले गलैंचा बनेरै समय बिताउने गरेको वडाध्यक्ष शेर्पाले बताए ।

“आवश्यक पर्ने कच्चा पदार्थ एक वर्षसम्मलाई पुग्ने गरी काठमाडौंलगायत ठाउँबाट ल्याएर गलैंचा बुनिरहेका छन्, लामो समयसम्म चीनतर्फको नाका नखुले अन्य बजार खोजेर पनि बजारीकरणमा सहयोग गर्नु पर्ला”, वडाध्यक्ष शेर्पाले भने ।

सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा पुगिने ओलाङ्चुङगोलामा हाल ५३ घर परिवारको बसोबास छ । यहाँका बासिन्दाले गलैंचा बुन्ने, पशु पालन गर्ने र जडिबुटी सङ्कलन गर्ने गरेका छन् । पछिल्लो समय जनशक्तिको अभाव, जङ्गली जनावरको आक्रमणका कारण पशुपालन घट्दै गएको छ भने जडिबुटी सङ्कलन पनि कमैले मात्र गर्न थालेका छन् ।

अन्य पेशा व्यवसाय नभएकाले गलैंचा उत्पादन नै यहाँका बासिन्दाको मुख्य पेशा व्यवसाय बनेको तर सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीले व्यापार ठप्प हुँदा भने एक वर्षदेखि आर्थिक समस्या झेल्नु परेको स्थानीयवासीले बताएका छन् ।

गाउँमा वडाको बजेटबाट सञ्चालन हुने सानातिना योजनामा काम गर्न पाएकाले सामान्यतः सहयोग मिलेको समेत उनीहरूले बताए ।

प्रतिक्रिया