भेरी नदीमा पुल : नौ वर्षमा जगसम्म बनेन

जाजरकोट । भेरी नदीमा पुल निर्माण शुरु गरेको नौ वर्षसम्म अझै जगसम्म बन्न सकेको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको हो ।
ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको हो । जसले गर्दा लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो बनेको छ । ठेक्का सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणको जिम्मा वाइपी कन्स्ट्रक्सन प्रालि ललितपुरले पाएको थियो ।
कम्पनीले १०० मिटरको पुल निर्माण गर्न विसं २०६९ मा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सरकारले रु १३ करोड ४७ लाख छुट्याएको छ ।
पुलकै कारण चौरजहारी नयाँ शहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ । ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरवाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताइन् ।
पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर होमनाथ पौडेलले बताए ।
बनेन पासागाड पुल पनि
छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाड खोलाको पुल पनि आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभागको लापरवाहीका कारण पुल निर्माणको काम अधुरो बनेको हो । छिन्चु–जाजरकोट सडकको अधिकांश खोला र नदीमा पक्की पुल निर्माण भइसकेका छन् तर गलत डिजाइनका कारण ठेक्का सम्झौता भएको आठ वर्ष बित्दासमेत पासागाड खोलाको पुल निर्माण शुरु हुनसकेको छैन । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीले पुल निर्माण अलपत्र परेको हो ।
कन्सल्टेन्सीले हचुवाका भरमा पुलको डिजाइन गर्दा निर्माण अलपत्र परेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए ।
पुल निर्माणका लागि आठ वर्षअघि रु तीन करोडमा लुम्बिनी-आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको उनले जानकारी दिए ।
“शुरुमा पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल मिलेन । पुलको डिजाइन एक र निर्माणस्थलको लोकेशन अर्को हुँदा काम गर्न समस्या भएको हो”, उनले भने ।
आइएमई आरसी कन्सल्टेन्सीले रु सात लाखमा पुलको डिजाइन गरेको थियो । कम्पनीले ४६ मिटर लम्बाइको पुलको डिजाइन गरे पनि पासागाडमा पुल बनाउने दूरी २५ मिटरभन्दा बढी छैन । आठ वर्षअघि डिभिजन कार्यालयका प्राविधिकले निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो ।
(रासस)
प्रतिक्रिया