के एमाले एक ढिक्का होला त ?

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको अडानमा लचिलो बन्दै आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किने प्रतिबद्धता व्यक्त गरे । तर उनले त्यहाँ कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर खनाल–नेपाल समूहले फिर्ता लिनुपर्ने शर्त अगाडि सारे ।
नेपाल समूहकै दोस्रो तहका कतिपय नेताहरुसँगको अनौपचारिक छलफलका आधारमा ओलीले खनाल नेपाल समूहलाई सम्बाेधनका लागि त्यस्तो प्रस्ताव अगाडि सारेको बताइएको थियो । तर नेपाल पक्षले ओलीको प्रस्तावमा सकारात्मक जवाफ दिएन ।
खनाल-नेपाल समूहले ओलीको वक्तव्य भ्रमपूर्ण भएको प्रतिक्रिया दियो । । खनाल–नेपाल समूहले गत वैशाख ७ र २६ गते आफूहरूले बुझाएको ६ बुँदे मागमा ओली गम्भीर नभएको आक्षेप लगाउँदै ओलीको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरू केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय देखिएको टिप्पणी गरेको छ ।
एमाले एकताका लागि भनेर हिडिँरहेका वामदेव गौतमले पनि ओली र नेपाल समूहको प्रस्तावपछि मंगलबार आफ्नो धारणा सार्वजनिक गरे । उनले जेठ २ गते कायम रहेको पार्टीको स्थायी कमिटीको बैठक बोलाएर विवाद समाधान गर्न गौतमले प्रस्ताव गरे । ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन गौतमले आग्रह गरे ।
ओलीले वक्तव्यमा २०७५ जेठ ३ गते पूर्व अवस्थामा फर्काउने भनेका छन् । नेपाल समूहले भाषा प्रष्ट नआएको भन्दै जेठ २ मा फर्किनुपर्ने बताएको छ ।
एक दिनको अन्तरका कारण पनि एमालेभित्रको एकतामा ओली र खनाल नेपालका आ-आफना अडान देखिएका छन् । यसले ओलीको प्रस्तावमा पनि खनाल नेपाल समूह लचिलो देखिएका छैन । ओली अझै एकतामा गम्भीर नभएको आक्षेप खनाल नेपाल समूहको छ ।
के छ ०७५ जेठ २र ३ मा फरक ?
सर्वाेच्चले २३ फागुनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववतः अवस्थामा एमाले माओवादीलाई फर्काइदिएपछि खनाल-नेपाल समूहले त्यसबेला देखि नै अब पार्टीलाई ०७५ जेठ २ मा फर्काउनुपर्ने बताउँदै आएको छ ।
तर ओलीले त्यो मागलाई सुने/नसुनेझै गरेका थिए । पार्टी धेरै अगाडि बढिसकेकाले अब ०७५ जेठ २ मा फर्किन नसक्ने भन्दै ओली समूहले आफू पक्षका नेताहरुको मात्र बैठक राखेर नवौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए ।
नेकपा (माओवादी केन्द्र) छाडेर आएका रामबहादुर थापा (बादल) सहितका २३ नेतालाई आयोजक समितिमा मनोनित गरे । स्थायी समिति पनि त्यही अनुसार बनाए । नेपाल पक्षका नेताहरुका जिम्मेवारी पनि खोसियो ।
त्यसमा नेपाल पक्षले निरन्तर आपत्ति जनाउँदै आए । तर ओलीले त्यसलाई अटेर गरेरै अगाडि बढे । अहिले ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएका छन् । यसलाई नेपाल पक्षले शंकाले हेरेको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहेका डा राजन भट्टराई जेठ ३ पूर्व भन्नु र जेठ २ भन्नु एउटै रहेकाले त्यसमा शंका गरिरहनु पर्ने विषय नै नभएको बताउँछन् ।
‘प्रधानमन्त्रीको ६ बुँदे प्रस्तावमा शंका गरिरहनु पर्ने अवस्था नै छैन । विषय सबै प्रष्ट छन्,’ डा भट्टराई भन्छन्–‘उहाँहरु (खनाल-नेपाल समूह)भित्र एमाले फुटाउनै पर्ने पक्षमा केही नेताहरु हुनुहुन्छ, उहाँहरुको अनेक तर्क छ, तर त्यहाँभित्र पनि प्रधानमन्त्रीको अपिल पछि सकारात्मक भन्ने साथीहरु पनि हुनुहुन्छ ।’
ओलीले २०७५ जेठ २ भन्दा पनि नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिएका व्यक्तिहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भनेकामा नेपाल पक्षको आपत्ति छ ।
नेपाल समूहको भनाईमा ओलीको यो अभिव्यक्तिले २०७५ जेठ ३ अवस्थामा माओवादी केन्द्रसँग एकता गर्दाका एमालेतर्फका २४१ र माओवादी छोडेर आएका २३ केन्द्रीय नेतासम्मको अर्थ लाग्ने बताउँदै आइरहेको छ । त्यसो गर्दा ओलीले आफनो समूहको बलियो उपस्थिति भएको कमिटी बनाउन चाहेको आरोप खनाल-नेपाल पक्षको छ ।
खनाल-नेपाल पक्षकी नेत्री अष्टलक्ष्मी शाक्य जेठ २ र ३ मा धेरै अन्तर रहेकाे दाबी गर्छिन् । उनका अनुसार जेठ २ भनेको एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित भएर आएको कमिटी भएको र जेठ ३ भनेको एमाले माओवादी केन्द्रसँग एकता हुँदाको जस्तै कमिटी हो ।
उनले ३ मा जाँदा माओवादीबाट आएका रामबहादुर थापासहितका नेतालाई समेटेर ओली अघि बढ्न खाेजेकाे बताइन् । तर ओली पक्षका नेता कर्ण थापाले भने नेपाल पक्षका नेताहरुको बुझाईमै अन्तर देखिएको बताउँछन् । ‘जेठ २ र जेठ ३ पूर्व भन्नु एउटै होइन र ?’ नेता थापाले भने, ‘उहाँहरु (खनाल-नेपाल समूह) को बुझाईमै अन्तर देखिएको छ ।’
नेपाल समूहले भने नवौं महाधिवेशनले निर्वाचत गरेको २०३ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिनुपर्ने भनेको छ । त्यसमध्ये एक जनाको निधन भएकोले अहिले २०२ जना रहेको कमिटीको कुरा गरेको हो । त्यसमा खनाल-नेपाल पक्षका ९२ जना नेता थिए ।
तर जेठ ३ पूर्व र नेकपा हुँदा एकता पक्षधर रहेको भन्दा माओवादी केन्द्रसँग एकता गर्दा थपिएका ४० नेतामा ८ जना मात्र नेपाल पक्षका रहेका र त्यसमा पनि ३ जना नेता ओली समूहमै लागिसकेका र माओवादी छोडेका २३ नेतासम्म समेटिने कुरा ओलीले गर्न खोजेको नेपाल पक्षको भनाइ छ ।
त्यसलाई अहिले मानेर जान नसकिने खनाल-नेपाल पक्षको निष्कर्ष छ ।
पटक–पटक वार्ता, तर निस्कदैन निष्कर्ष
एमालेभित्रको विवादमा मिलाप खोज्ने उद्देश्यले दुई पक्षका नेताहरुका बीचमा औपचारिक/अनौपचारिक वार्ता निरन्तर हुँदै आएका छन् । ओलीको ६ बुँदे प्रस्ताव र नेपाल पक्षको जवाफी प्रस्तावपछि पनि अनौपचारिक रुपमा ओली पक्ष र खनाल नेपाल पक्षका दोस्रो तहका नेताहरुका बीचमा मंगलबार साँझ कुपन्डोलस्थित होटल समिटमा वार्ता भयो ।
सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायत ओली पक्षका नेता र गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायत नेपाल पक्षका नेताका बीचमा मंगलबार पनि होटल समिटमा अनौपचारिक वार्ता भएको हो । तर ठोस निष्कर्ष निस्केको छैन ।
त्यसभन्दा अगाडि पनि होटल याक एण्ड यतिमा पनि दुई पक्षका युवा नेताहरुको मध्यरातसम्म समेत पार्टी विवाद मिलाउने प्रयाससहित औपचारिक वार्ता भएका हुन् । माधव नेपाल र प्रधानमन्त्री ओलीका बीचमा वैशाख अन्तिम साता वान टु वान वार्ता भएपछि दुवै पक्षका ५, ५ जना रहेको कार्यदल पनि बन्यो । कार्यदलस्तरमा पनि छलफल भयो । तर निष्कर्ष निस्कन सकेको छैन ।
विवाद निरूपण हुन नसक्दा एमाले उम्मेदवार रामबहादुर थापा माधव नेपाल पक्षको असहयोगकै कारण राष्ट्रियसभाको उपनिर्वाचन पराजित बने । लुम्बिनी प्रदेशमा पनि त्यही रोग दोहोरियो ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी मुख्यमन्त्री एमालेकै माधव नेपाल पक्षको सहयोगका कारण जोगिएका छन् । नेपाल पक्ष ओलीको चाहना विपरित माओवादीका मुख्यमन्त्रीको कुर्सी जोगाउन ढाल बनेर उभिईदिएका छन् । यसले पनि विवादलाई साँघुर्याउने भन्दा झन टाढा–टाढा बनाउँदै लगेको छ ।
यस्तो छ दुईपक्षबीचको वार्ता श्रृंखला
वैशाख ८– ओली र नेता योगेश भट्टराई भेटवार्ता
वैशाख ९– ओली र माधव नेपालको भेटवार्ता
वैशाख २७– नेता नेपाल, सुवास नेम्वाङ र विष्णु पौडलबीचको वार्ता
वैशाख २७– ओली र नेपाल पक्षका नेताहरुको वार्ता
वैशाख ३०– ओली र नेपालको वार्ता
वैशाख ३१– ओली र नेपालपक्षबीचको वार्ता ।
वार्तामा ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) र अर्थमन्त्री विष्णु पौडेल थिए भने नेपाल पक्षबाट नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी ।
वैशाख ३१– ओली र नेपालको वार्ता
जेठ १– ओली र नेपालको वार्ता
जेठ २– ओली र नेपालको वार्ता
जेठ २– एमालेभित्रको विवाद समाधानको प्रस्ताव तयार पार्न कार्यदल गठन
जेठ १७– विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टबीच झण्डै ५ घण्टाभन्दा लामो समयसम्म छलफल ।
जेष्ठ २५– सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायत दोस्रो तहका नेताका वीचमा छलफल ।
अनौपचारिक संवाद पनि यसबीचमा धेरै पटक नेताहरुका बीचमा भइरहेकाे छ ।
अब हुन्छ के ?
ओलीले नेता नेपाल, खनाल , रावलसहित ११ नेतालाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरिएको अवस्था छ । १२ अन्य थप नेतालाई स्पष्टीकरण सोधिएको छ । प्रदेश तहमा पनि अन्य कतिपय नेतालाई स्पष्टीकरण सोधिएको छ ।
तर स्पष्टीकरण सोधिएका नेतामाथि के गर्ने निर्णय ओलीले नलिदै अहिले एकताका लागि अपिल गरिएकाे छ । ओलीको अपिलको जवाफ नेपाल पक्षले सकारात्मक रुपमा दिएन । यसले नेपाल समूहमा भने तरंग छ । नेपाल समूहमा यसले विभाजनको रेखा कोर्ने सम्भावना बढेर गएको नेताहरुकै तर्क सुनिन्छ ।
नेत्री शाक्य पार्टी अध्यक्ष ओलीले पार्टी एकताको लागि गरेको आह्वान राम्रो भएपनि त्यसमा झुटा र भ्रम छर्ने गरी आएको बताउँछिन् । उनी भन्छिन्,–‘हामीले पटक पटक पार्टी एकताको लागि जोड दियौं । पार्टीलाई ०७५ जेठ २ को अवस्थामा लगे एकता हुन्छ, झुक्याउने मात्र गर्न खोजे हुँदैन । हामी एमालेको एकता चहान्छौं । विभाजन, टुक्रयाउन चाहदैनौं । पार्टीमा रगत पसिना बगेको छ । यो पार्टी निमार्णको लागि जेल नेल खाएका छौं ।”
पार्टीलाई चटक्क छोड्दा कस्तो पीडा होला ? उनी प्रश्न गर्छिन् ।
ओली पक्षका नेता कर्ण थापाले पार्टी एकता नहुने भन्ने प्रश्न नै नरहेको बताए । उनले माधव नेपाल पक्षले पार्टीका विरुद्धमा सम्पूर्ण गतिविधि गर्दा पनि पार्टी अध्यक्षका तर्फबाट एमालेमा रहेका मान्छेलाई एमालेमा नै रहन अन्तिम प्रयत्न गरिएकाे बताए । उनले पार्टी संवैधानिक र कानूनी रुपले पनि फुट्न नसक्ने भन्दै नेपाल समूह पार्टीबाट हट्ने काम गर्दै आएको बताए ।
उनले भने, “माधव नेपालका पछि मान्छे नजाउन भनेर अध्यक्षले हदैसम्म लचकता अपनाएर पार्टीको एकताको आह्वान गर्नु भएको हो । पार्टी एक ढिक्का रहन्छ । शुद्धीकरणको अभियान हुन्छ । पहिला एमालेको पदमा रहेका केही मान्छे पार्टीमा रहदैन ।”
राजनीतिक विश्लेषक डा विष्णु दाहाल ओली आफ्नो समूहभित्रबाट नै घेराबन्दीमा पर्दै आएकाे जिकिर गर्छन् । उनले नेपाल पक्षमा रहेका योगश भट्टराई, सुरेन्द्र पाण्डेलगायतका नेतालाई लगेर नेपाल समूहभित्र विभाजनको प्रयास ओलीले गरेको बताए ।
उनी भन्छन्, “नेपाल समूह छुटेर अर्को पार्टी गठन गरेर १०/१५ वर्ष मेहनत गर्नुपर्ने भन्दापनि पार्टीभित्रबाट अन्तरसंघष गरेर ओलीको बर्हिगमन गर्ने , पार्टीको चुनाव चिह्न, झण्डाप्रति मोहो उनीहरुमा पनि देखिएको छ । पार्टीमा वैचारीक द्वन्द्व नभई पदीय लडाईं भएकाले यो जे जस्तो भएपनि को पदमा रहने भन्ने कुरा हो । त्यसकारण यो त्यति ठूलो हो भन्ने लागदैन ।”

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।
प्रतिक्रिया