गण्डकी प्रदेश सभा समिकरण
के दिपक मनाङेले कित्ता परिवर्तन गर्न लागेका हुन् ?
गण्डकी प्रदेश सभामा दिपक मनाङे निर्णायक, उनले विपक्षी गठवन्धनमा मत दिए प्रदेश सभा विघटनबाट जोगिने

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत लिँदैछन् । मध्यान्ह १२ बजे पछि बस्ने प्रदेश सभामा गुरुङले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा दर्ता भईसकेको छ ।
दलहरुको आन्तरिक जोडघटाउमा अहिले खुलेकै आधारमा दल तथा प्रदेश सांसद खुले भने न मुख्यमन्त्रीलाई विश्वासको मत लिन संख्या पुग्छ न विपक्षी गठबन्धनलाई नयाँ सरकार बनाउन नै ।
६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले) को २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र १ सांसद छन् ।
मुख्यमन्त्रीसँग २७ सांसद साथमा छन् । जनमोर्चाका १ सांसद कृष्ण थापाले पार्टी निर्णय नमानी मुख्यमन्त्री गुरुङलाई साथ दिने देखिन्छ ।
उनलाई यस अगाडी गुरुङले साथ दिएपछि नै जनमोर्चाले कारवाही गरेको थियो । उनलाई पदमुक्त समेत गराएको थियो । तर सर्वोच्च अदालतबाट उनी पूर्नवहाली भएका छन् ।
यद्यपी, यो विषयमा प्रदेश सभामा सभामुख नेत्रनाथ अधिकारी र राष्ट्रिय जनमोर्चा समेत सर्वोच्चमा भ्याकेटमा मुद्दा बोकेर सर्वोच्च पुगेका छन् । त्यसमा आजै सुनुवाई हुँदैछ ।
तर अदालतको सुनुवाई हुँदै गर्दा उता प्रदेश सभामा विश्वासको मत लिने प्रक्रिया शुरु भईसकेको हुनेछ । यसले त्यहाँको गठवन्धन पेचिलो बनेको छ ।
विपक्षी कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको त्यहाँ गठबन्धन छ । तर गठनबन्धनमा रहेको जनमोर्चाको प्रष्ट मत एकैतिर नखस्दा न सत्तापक्ष, न प्रतिपक्ष कसैलाई पनि बहुमतको अवस्था छैन । अहिलेको समीकरण प्रदेश सभाभित्रको त्यही हो ।
जनमोर्चाले कारवाही गरेका कृष्ण थापाको पद रिक्त रहेको भए ३० मत सत्ता या विपक्षी जसले ल्याउँदा पनि सरकार टिकाउने या बनाउने संख्या पुग्थ्यो तर अवस्था त्यस्तो नदेखिएपछि स्वतन्त्र सांसद दिपक मनाङे निर्णायक बन्न पुगेका छन् ।
मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) मुख्यमन्त्री गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री छन् । तर उनी हिजो साझ बसेको मन्त्रीपरिषद्को बैठकमा सहभागी भएनन ।
सत्तापक्षले पनि बहुमत नपुग्ने, विपक्षीको पनि बहुमत नपुग्ने स्थिती देखेपछि प्रदेश सभा नै विघटन तिर जाने देखिएपछि मनाङेले कित्ता परिवर्तन गरेका छन् ।
उनले प्रदेश सभा विघटनलाई जोगाउन विपक्षमा मतदान गर्ने तयारी थालेको उनीनिकट स्रोतको भनाई छ ।
यदि उनले कित्ता परिवर्तन गरेर विपक्षीलाई मत दिएमा विपक्षी गठवन्धनको ३१ मत पुग्छ । वहुमत सरकार बनाउनका लागि पुग्छ । यसले पनि मनाङेको पोजिसनले गण्डकी प्रदेश सभाको परिणाम रोचक मोडमा पुग्ने देखिएको छ ।
मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८ को उपधारा ३ अनुसार अहिले प्रदेश सभामा मुख्यमन्त्री छन् । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकोले आज विश्वासको मत लिन लागेका हुन् ।
कसैको पनि वहुमत नपुग्ने अवस्था देखिए प्रदेश सभा पनि प्रधानमन्त्री केपी ओलीले केन्द्रमा संसद भंग गरेर चुनाव घोषणा गरेकै शैलीमा जाने अवस्था थियो ।
तर जनमोर्चा निर्णायक देखिएको प्रदेश सभामा अहिले स्वतन्त्र सांसद दिपक मनाङे निर्णायक अवस्थामा देखिन आईपुगेका हुन् ।
अब उनले कता मत दिन्छन् ? भन्ने अहिले सबैको चासो छ । प्रदेश सभा जोगिने या विघटनमा जाने भन्नेमा मनाङे निर्णायक बन्न आईपुगेका छन् ।
प्रतिक्रिया