बिहीबार, वैशाख १०, २०८३

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

मेरोन्यूज २०८३ वैशाख १० गते ८:२०

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैंकलाई बिक्री गर्न थालेको हो ।

Advertisement
NiccNicc

सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु. १०, रेडबुलका बोतल प्रतिकेजी रु. ८०, एचडिपी प्लास्टिक प्रतिकेजी रु. आठ, पानीका बोतल प्रतिकेजी रु. १०, फलाम प्रतिकेजी रु. १५, सिसा प्रतिकेजी रु. एक तथा टिन प्रतिकेजी रु. पाँचमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागका एक हजार ७६५ घरबाट फोहोर संकलन गर्छ । 

दुई वटा ट्याक्टर, दुईजना चालक र दुई जना सहचालक राखेको समितिले शनिवार बाहेक साताको छ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ । कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन संकलन हुने समितिले जनाएको छ । उक्त फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ । उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ । एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट समितिले रु. २० हजार आम्दानी गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए । 

पानीको मुहान र बस्तीलाई फाइदा
फोहोर बिक्री हुन थालेपछि पानीको मुहान सफा हुने भएको छ । फोहोर बिक्री नहुँदा ओख्रेनीमै जलाउने गरिएको थियो । जसले गर्दा ओख्रेनी, उदिनढुंगा जिप पार्क, बेदुखर्कलगायतका गाउँ सधैँ दुर्गन्धित हुने गर्दथ्यो ।

तम्घासदेखि ओख्रेनी हुँदै बेदुखर्क, भनपानीलगायतका गाउँ जाँदा बाटोसम्मै दुर्गन्ध फैलन्थ्यो । अहिले त्यो दुर्गन्ध हटेको स्थानीय मीना खत्रीले बताइन् ।

त्यसैगरी फोहोर फाल्ने ठाउँ तलपट्टि खानेपानीको ट्यांकी छ । उक्त पानी तम्घास बृहत् खानेपानी उपभोक्ताको ट्यांकीमा जम्मा भई तम्घास बजारका मानिसले पिउँछन् । फोहोरमैला व्यवस्थित नहुँदा खानेपानी समितिमाथि पनि थुप्रै पश्न उठेका थिए । फोहोर बिक्री हुन थालेपछि खानेपानीको मुहान शुद्ध हुने स्थानीय उपभोक्ता सरस्वती सर्तुंगेले बताइन्।

फोहोर व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले सहयोग गरेको छ । नगरले रु. १३ लाख ८० हजारमा जमिन समाएपछि मात्रै फोहोर व्यवस्थापन एवं बिक्री सुरु गरिएको हो । उक्त रकममध्ये हालसम्म रु सात लाख भुक्तानी भएको छ भने रु. छ लाख ८० हजार भुक्तानी हुन बाँकी छ ।

नगर प्रमुख खिलध्वज पन्थीले बजारलाई सरसफाइ राख्नु नगरको दायित्व भएकाले र यसलाई समितिले सहयोग गरेको बताए । उनले फोहोर बिक्रीबाट एकातर्फ समितिलाई आम्दानी भएको र अर्कोतर्फ बजार सरसफाई भएको भन्दै खुसी व्यक्त गरे । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक समितिलाई रु. १० लाख अनुदानस्वरुप प्रदान गर्दै आएको छ ।

त्यसैगरी, समितिका अध्यक्ष पन्थीले अब कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने योजना रहेको बताए। अहिलेसम्म कुहिने फोहोरलाई ओख्रेनीकै छेउको खोल्सामा पुर्ने गरिएको छ । अब करिब १४ लाख लागतमा उक्त फोहोरलाई कम्पोष्ट मल बनाउने गरी काम सुरु गरिने उनको भनाइ छ ।

“नगरपालिकासँग समन्वय भइरहेको छ, कुहिने फोहोरको पनि व्यवस्थापन गर्दा सहर झनै सुन्दर हुन्छ”, अध्यक्ष पन्थीले भने, “सुन्दर रेसुङ्गा नगर बनाउन सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ ।” तम्घासमा २०६१ सालदेखि नगर विकास तथा वातावरण सरसफाइ समितिले फोहोर व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया