चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडा अधिक

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैंडा रहेको पाइएको छ । हालै सम्पन्न राष्ट्रिय गैंडा गणनाको तथ्याङ्कअनुसार पश्चिमी क्षेत्रमा धेरै गैंडा भेटिएका हुन् ।
गैंडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो । सो क्रममा आएको तथ्याङ्कअनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैंडा भेटिएका हुन् । पूर्वतर्फ यो सङ्ख्या २६५ मात्रै रहेको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी १५४ वटा गैंडा भेटिएका छन् ।
यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो । यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तै उस्तै सङ्ख्यामा रहेका छन् । पूर्वमा २६५ र पश्चिममा २७५ रहेका छन् ।
यस वर्षको गणनामा निकुञ्जमा ६९४ गैंडा भेटिएका थिए । पूर्वमा सौराहा आसपासका क्षेत्रमा गैंडाको राम्रो बसोबास रहेको पाइएको छ । यहाँ ९५ वटा गैंडा रहेका छन् । निकुञ्जको पुरानो पदमपुर आसपासका क्षेत्रमा ती गैंडा गणनाका क्रममा भेटिएका हुन् ।
त्यसैगरी सोही क्षेत्रको नजिक बहपुर खोला आसपासमा ६३ वटा गैंडा भेटिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा कम मकवानपुर जिल्लाको प्रतापपुर क्षेत्रमा एउटा मात्रै गैंडा भेटिएको अधिकारीले जानकारी दिए । त्यस्तै त्रिवेणीको कानामाना क्षेत्रमा तीन वटा मात्रै गैंडा भेटिएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँसे मैदान र पानीको स्रोतहरु पूर्वमा बढी व्यवस्थित भए पनि पश्चिममा गैंडाको सङ्ख्या बढी भएको बताए ।
भारततर्फ जानसक्ने टेम्पल टाइगर, भेलौजी, सेरी, धजाहा, बगुवनलगायतका क्षेत्रमा १०० भन्दा बढी गैंडा रहेको तथ्याङ्कमा देखिएको छ । ती क्षेत्रमा धेरै गैंडा हुनु जोखिमपूर्ण रहेको बरालको भनाइ छ ।
त्यहाँबाट भारततर्फ गैंडा जान सक्ने भएकाले ती गैंडालाई आन्तरिक स्थानान्तरण गरी पूर्व क्षेत्रमा लैजानुपर्ने बरालले बताए । गणनाअघि नै निकुञ्जका अधिकारीहरुले पश्चिम क्षेत्रका गैंडालाई पूर्वमा ल्याउनुपर्ने बताउँदै आएका थिए ।
केही वर्षअघि राप्ती र नारायणीमा आएको ठूलो बाढीले धेरै गैंडा बगाएर भारत पु¥याएको थियो । केहीलाई उद्धार गरी ल्याइएको भए पनि अझै केही भारतीय क्षेत्रमा रहेको अनुमान छ ।
गणनाका क्रममा ४७४ वटा वयस्क, ९५ अर्धवयस्क र १२५ बच्चा गैंडा भेटिएका थिए ।
प्रतिक्रिया